Odapalika - The Fourth Estate - चौथो अंग
यस्तो छ जीतपुर सिमरा उपमहानगरपालिका र एरोटेक प्रालिबीचको विवादको नालीबेली

काठमाडौँ । गत पुस ९ गते बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले वडा नम्बर २३ मा रहेको एरोटेक प्रालिलाई एउटा पत्र लेख्यो । पत्रमा ७ दिनभित्रमा उपमहानगरपालिकाको कार्यालयमा सबुद प्रमाणसहित उपस्थित हुन भनियो ।

सो प्रालिले सार्वजनिक सम्पत्ति मिचेको, कानुन अनुसार नक्सापास नगराई संरचना निर्माण गरेको र सम्पत्ति कर नबुझाएको उपमहानगरपालिकाको पत्रमा उल्लेख छ ।

‘तपाईंले निर्माण गर्न लागेको भवन÷संरचना विरुद्ध यस कार्यालयमा उजुरी परेको हुनाले तत्काललाई निर्माण कार्य रोक्का राखी, सो संरचनाको नक्सा पास रहेको÷नरहेको, सार्वजनिक कुलो सम्बन्धी आधारभूत मापदण्ड पालना गरेको÷नगरेको सबुत प्रमाण लिई यो चिठी प्राप्त भएको सात दिनभित्र यस कार्यालयमा उपस्थित हुन अनुरोध छ । अन्यथा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने बेहोरासमेत जानकारी गराइन्छ,’ उपमहानगरपालिकाले एरोटेक प्रालिलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रालिले सार्वजनिक कुलोको जग्गा मिचेर संरचना निर्माण गरेको आरोप स्थानीयले लगाएका छन् । सो विषयमा स्थानीयले उपमहानगरमा लिखित उजुरी नै दिएको उपमहानगरपालिकाका इन्जिनियर अभयकान्त झाले जानकारी दिए ।

‘कम्पनीले पर्खाल लगाउन थालेको रहेछ । यसरी पर्खाल बनाउँदा सार्वजनिक कुलो मिचिएको भन्दै स्थानीयले लिखित रुपमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा हामीले एरोटेक प्रालिलाई पत्र लेखेका थियौं,’ इन्जिनियर झाले वडापालिकासँग भने ।

उपमहानगरले यसरी पत्र पठाएपछि प्रालिले त्यसको जवाफ दिएको छ । प्रालिका तर्फबाट योगेन्द्र मल्लिकले पत्र पठाउँदै आफ्नो जग्गा छुट्टयाइदिन र भवनको नक्सापास गरिदिन अनुरोध गरेका छन् । उपमहानगर कानुनी कारबाहीको प्रक्रियामा सहभागी हुन सक्ने देखिएपछि प्रालिले पत्रमार्फत आफू स्थानीय सरकार संचालन ऐन २०७४ को पालना गर्न तयार रहेको जानकारी गराएको हो ।

के गर्छ एरोटेक प्रालिले ?

एरोटेक प्रालि ग्यास सिलिन्डर उत्पादन गर्ने उद्योग हो । यही उद्योगले बनाएका ग्यास सिलिन्डर धेरै ग्यास उद्योगले प्रयोग गर्ने गरेका छन् । 

यो उद्योग २०६८ सालको सुगम ग्याससँग सम्बन्धित चर्चित ग्यास सिलिन्डरको फुटरिङ प्रकरणमा मुछिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको ५ सदस्यीय छानविन समितिले एरोटेक प्रालिले ‘औद्योगिक व्यवसाय ऐन २०४९ को बर्खिलाप’ गरेको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update