Odapalika - The Fourth Estate - चौथो अंग
६ महिनामा ३० प्रतिशत बजेट खर्च गरेको भरतपुर महानगरले पुरक बजेटमा थप्यो ९ करोड

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्चको १३ प्रतिशत र चालु खर्चको ३० प्रतिशत मात्रै बजेट खर्च गरेको भरतपुर महानगरले ९ करोड रुपैयाँ थप गरेर पुरक बजेट ल्याएको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट ल्याएको थियो ।

यसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजारमध्ये पुसको मध्यसम्म ७९ करोड १ लाख १९ हजार रुपैयाँ खर्च भएको महानगरले जानकारी दिएको छ । यो खर्च कुल विनियोजित चालु खर्चको ३० प्रतिशत हुन आउँछ ।

यस्तै, महानगरले पुँजीगततर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमध्ये पुस मध्यसम्म ४६ करोड ७७ लाख रुपैयाँ खर्च गरेको छ । यो भनेको कुल विनियोजित पुँजीगत खर्चको १३ प्रतिशत हुन आउँछ ।

महानगरले १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि ५३ करोड ३ लाख रुपैयाँ संकलन भएको छ । यो भनेको कुल आन्तरिक राजस्वको ३१ प्रतिशत हो ।

महानगरले आईतबार १४ औं नगरसभा गरेको हाे । सो नगरसभामा ९ करोड ३ लाख रुपैयाँ थपेर पूरक बजेट ल्याएको उपमेयर चित्रसेन अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update