Odapalika - The Fourth Estate - चौथो अंग
हेटौडा उपमहानगरले पनि बढायो बजेटको आकार, अब झण्डै ३ अर्बको

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले गत असारमा ल्याएको बजेट संशोधन गरेको छ ।

उपमहानगरको नगरसभाले पुरानो बजेट बृद्धि गर्नुपर्ने भएपछि बजेट संशोधन गरेको हो । उपमहानगरले गत असारकोभन्दा बजेटको आकार करिब २२ करोड रुपैयाँले बढाएको छ ।

गतशनिबार बसेको नगरसभामा उपप्रमुख राजेश बानियाँले प्रस्तुत गरेको संशोधनसहित २ अर्ब ९० करोड ६२ लाख ९० हजार रुपैयाँको बजेट पास भएको छ । गत असारमा ल्याइएको बजेटको आकार २ अर्ब ६८ करोड ६० लाख १० हजार रुपैयाँ थियो ।

आन्तरिक राजस्व संकलनमा देखिएको प्रगतिको आधारमा चालु आर्थिक वर्षको बजेटको आकार बढाइएको उपमहानगरले जानकारी दिएको छ ।

चालु आवको ६ महिनाको राजस्व संकलनमा लक्ष्य अनुसारको आधा पूरा भएकोभन्दै उपप्रमुख बानियाँले गत आर्थिक वर्ष भन्दा यो वर्ष राजस्व बढ्ने भएकोले आकार बढाएको बताए ।

चालु आर्थिक वर्षको लागि कुल ३० करोड ९४ लाख राजश्व लक्ष्य राखेकोमा १५ पुसमा १५ करोड ४५ लाख रुपैयाँ रकम संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।

अहिलेसम्म ५० प्रतिशत राजस्व संकलन भएको र गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको बानियाँले बताए ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update