Odapalika - The Fourth Estate - चौथो अंग
मुग्लिन बजारमै छैन चार्जिङ स्टेशन, एक वर्ष नबित्दै बिग्रियो स्टेशन

काठमाडौँ ।  चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो । सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्र्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ । हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ ।

गोरखाका धु्रव गुरुङले चार्जिङ स्टेसन बिग्रँदा हैरानी बेहोर्नुपरेको गुनासो गरे । उनले एसी चार्जरबाट चार्ज गर्दा घण्टाँै कुर्नुपर्ने समस्या रहेको बताउँदै उनले २० मिनेटमा गाडी जम्मा छ प्रतिशत चार्ज भएको गुनासो गरे ।  

‘बिग्रेको अवस्थामा झण्डै एक घण्टामा पूरै चार्ज हुन्थ्यो, अहिले त दुई तीन घण्टा कुर्नुपर्छ । उनले सरकारले विद्युतीय सवारीसाधन प्रयोगमा जोड दिए पनि थप चार्जिङ स्टेसन निर्माण र बिग्रेका स्टेसनको समयमै निर्माण गर्ने कुरामा ध्यान नदिएको गुनासो गरे । उनले धेरै चार्जिङ स्टेसन नहुँदा भएका स्टेसनमा धेरै समय लाइन लगाएर मात्रै चार्ज गर्न पाइने गरेको बताए ।

चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजना व्यवस्थापक शिव अधिकारीले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको बताए । उनले चार्जिङ स्टेसनमा फेर्नुपर्ने सामान मगाइसकेको र एक दुई दिनमै आउने बताए । ‘भन्सारमा सामान आएको हप्तादिन भयो, सम्भवत आज भन्सार छुटेर सामान काठमाडौँ आइपुग्छ ।” उनले एक दुई दिनमा प्राविधिक टोली पठाएर मर्मतको काम गरिने बताए ।

आयोजना व्यवस्थापक अधिकारीका अनुसार नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२  चार्जिङ स्टेसन निर्माण गरिएको छ । केही स्टेसनमा समस्या देखिएको छ । देशभर चार्जिङ स्टेसनका १५३ मध्ये २० मा समस्या देखिएको बताए । 

उनले सबै स्टेसनमा बिग्रिएको मर्मत तत्काल सुरु गरिने जानकारी दिए । उनले चार्जर प्रयोग गर्दा सेवाग्राहीले सावधानी नअपनाउँदा समस्या आएको बताए । उनले सवारीसाधन चार्जका विषयमा उपभोक्तालाई धेरै कुरा जानकारी गराउनुपर्ने बताए । चितवनमा केन्द्रीय बस टर्मिनल र मुग्लिनमा नेपाल विद्युत् प्राधिकरणले चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update