Odapalika - The Fourth Estate - चौथो अंग
आबुँखैरेनी गाउँपालिकाको सत्कर्मः सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी र अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ । तनहुँ जिल्लाको आँबूखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या बढाउन गज्जव कार्यक्रम ल्याएर कार्यान्वयन थालेको छ ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘अभिभावक विद्यार्थी लक्षित स्वास्थ्य बीमा कार्यक्रम’ ल्याएको गाउँपालिकाले सो कार्यक्रम कार्यान्वयन सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

‘चालु आर्थिक वर्षमा अभिभावक विद्यार्थी लक्षित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भनिएको थियो । १५ लाख रुपैयाँ बजेट सो कार्यक्रममा छ । अहिले त्यो कार्यक्रम सुरु भएको छ,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले वडापालिकासँग भने ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन र शिक्षाको अवस्था सुधार गर्न यस्तो कार्यक्रमको अवधारणा ल्याएका थिए । गाउँपालिका नेतृत्वबाट आएको इनोभेटिभ कार्यलाई सरोकारवाला सबैले सहयोग गरेर कार्यान्वयनमा लगिएको प्रमुख प्रशासकीय अधिकृत शर्माको भनाइ छ ।

गाउँपालिकाले सो कार्यक्रम पहिलो चरणमा भौगोलिक रुपमा विकट तथा आर्थिक रुपमा पछाडि परेका क्षेत्रबाट सुरु गर्न थालेको छ । पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ गरी ३ वटा वडामा यो कार्यक्रम संचालन हुनेछ ।

संघीय सरकारले संचालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा पालिकाको यो कार्यक्रम जोड्ने गरी यसको संरचना तयार पारिएको छ । संघीय सरकारको स्वास्थ्य बीमा कार्यक्रममा वार्षिक ३५ सय रुपैयाँ तिरेर ४ जनासम्मको परिवारलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार खर्च बीमाबाट पाउने व्यवस्था मिलाइएको छ । आँबूखैरेनी गाउँपालिकाले पनि सोही कार्यक्रममा जोडेर विद्यार्थी तथा अभिभावकको स्वास्थ्य बीमा गरिदिनेछ ।

‘आँबूखैरेनी गाउँपालिकाभित्र ३२ वटा सामुदायिक विद्यालयमा करिब ६ हजार विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाले संचालन गरेको अभिभावक विद्यार्थी लक्षित स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुने विद्यार्थीको परिवार संख्या ४ जनाको मात्रै रहेछ भने त वार्षिक ३५ सय रुपैयाँले पुग्ने नै भयो । त्योभन्दा बढी रहेछ भने प्रतिपरिवार सदस्य १ हजार रुपैयाँ थप गरेर स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाइन्छ । हामीले त्यसरी नै कार्यान्वयन गर्ने हो,’ प्रमुख प्रशासकीय अधिकृत शर्माले भने ।

स्वास्थ्य बीमामा लाग्ने सबै रकम गाउँपालिकाले दिनेछ भने उनीहरुको उपचार पनि गाउँपालिकाले संचालन गरेको अस्पतालमा हुनेछ । सो गाउँपालिकाले १५ शैय्याको आफ्नै अस्पताल संचालन गरेको छ । सो अस्पतालमा उपचार हुन नसकेका विरामीको अन्यत्रका अस्पतालमा रिफर गरिने र त्यसरी रिफर भएर जाने विरामीको पनि स्वास्थ्य बीमाबाट उपचार हुनेछ ।

कार्यक्रम संचालनका लागि गाँउपालिकाले आवश्यक नियम कानून निर्माण गरिसकेको छ । सम्बन्धित बिद्यालयहरुको सिफारिस सहित वडाहरुबाट बिद्यार्थी र उनीहरुको अभिभावकको विवरण सहितको सिफारिस संकलन गर्ने, बीमा फर्म भर्ने, बीमा नवीकरण गर्ने कार्य सुरु भइसकेको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update