Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले गर्यो ब्याडमिन्टन खेलको विकासका लागि खेलाडीलाई सहयोग

काठमाडौँ । ललितपुर महानगर र राष्ट्रिय खेलाडीहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

ब्याटमिन्टन खेलको विकासका लागि राष्ट्रिय खेलाडीहरु रसिला महर्जन र प्रफुल्ल महर्जन र महानगरबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

महानगर प्रमुख चिरीबाबु महर्जनले ब्याटमिन्टन खेलको विकासका लागि यो समझदारी गरेको बताए । 

‘उहाँहरु राष्ट्रिय खेलाडी हुनुहुन्छ । महानगरको टेवाले ओलम्पिकमा पुग्न सहयोग मिलोस् भन्ने हाम्रो उदेश्य हो । यो नयाँ अध्याय हो, शुभारम्भ हो, अन्त्य होइन,’ मेयर महर्जनले भने ।

ब्याटमिन्टनका राष्ट्रिय खेलाडी प्रफुल्ल महर्जनले यो कार्यक्रमले आफूलाई प्रोत्साहित गरेको बताए । खेलको माध्यमबाट देश र ललितपुर महानगरलाई चिनाउन सक्दो मिहेनत गर्ने प्रतिबद्धता जनाए ।  

महानगर प्रमुख महर्जनका सल्लाहकार पद्मबहादुर श्रेष्ठले महानगरले गरेको यो कामको खुलेर प्रसंशा गरे । महानगरले खेलाडीलाई गरेको महत्वपूर्ण टेवा भएको दाबी गरे । 

समझदारी पत्रमा उल्लेख भए अनुसार रशिला र प्रफुल्लले प्रदेश वा राष्ट्रिय प्रतियोगिताहरुमा महानगरले प्रयोग गर्दै आएको लोगो प्रयोग गर्नुपर्नेछ ।  महानगरभित्र रहेका मूर्त र अर्मूत सम्पदाहरुको प्रचारप्रसार गरी पर्यटन प्रबद्र्धनमा सहयोग  गर्नुपर्ने महानगरले जनाएको छ । 

ललितपुर महानगरले व्याडमिन्टन खेलको विकास र प्रबद्र्धनका लागि महानगरले अनुरोध गर्दा प्रशिक्षण कार्यक्रम  संचालन गर्नुपर्नेछ ।  दुई वर्षसम्म महानगरले जनही दुई जनालाई यी काम गरे वापत वार्षिक  रुपमा जनही दुई लाख ५० हजार दिनेछ । 

कार्यक्रममा केन्द्रीय ब्याडमिन्टन संघका धुव्र महर्जन लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update