काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले बुधबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको दबाब खेप्न नसकेपछि राजीनामा दिएका हुन् ।
मङ्गलवार सञ्चारमन्त्री रेखा शर्मा समक्ष उनले राजीनामा बुझाएको प्राधिकरणले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको ६ साउन २०७६ को मन्त्रिपरिषद् बैठकले उनलाई पाँच वर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । आगामी ६ साउनसम्मको कार्यकाल बाँकी रहेको भए पनि टेरामोक्स, एमडीएमएस, जस्ता परियोजनामा विवादित भएको कारण देखाउँदै सरकारले उनलाई राजीनामा दिन बाध्य पारेको बताइएको छ ।
स्रोतका अनुसार मङ्गलवार बिहानै प्राधिकरणको कार्यालय पुगेका उनले केही कर्मचारीहरूलाई आफूले राजीनामा दिएको जानकारी गराएर बाहिरिएका थिए ।