Odapalika - The Fourth Estate - चौथो अंग
मेयरले भ्रष्टाचार गरेको भन्दै उपमेयर रितादेवीले लगाइन कटहरिया नगरपालिकामा ताला

काठमाडौँ । रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा उपमेयरले तालाबन्दी गरेकी छिन् । नगरपालिकाको उपपप्रमुख रितादेवीले सोमबार साँझदेखि पालिकामा तालाबन्दी गरेकी हुुन् ।

मेयर अजय प्रकाशले आफूखुशी कर्मचारी नियुक्त गरेको, खर्चको हिसाब माग गर्दा नदिएको जस्ता आरोप लगाएर उपप्रमुख रितादेवीले सोमबादेखि तालाबन्दी गरेकी हुुन् । 

उनले मेयरले आफूखुुशी खर्च गर्ने गरेको आफूले खर्च माग गर्दा नदिएको उनको आरोप छ । 

‘मेयरज्यूले आफूखुशी कर्मचारी नियुक्त गर्नुभएको छ । उहाँ आफ्नै सुरुमा पालिकामा चाहिने आवश्यक सामग्री सबै आफै खरिद गर्ने गर्नुुभएको छ । मैले केमा कति खर्च भयो भनेर माग गर्दा उहाँले अहिलेसम्म विवरण दिन सक्नुुभएको छैन’, उपमेयर रितादेवीले वडापालिकासँग भनिन् । 

उनले मेयरले १८ गते बैठक राखेर सबै खर्च विवरण सार्वजनिक गर्ने बताएपनि बैठकमा नआएको आरोप लगाइन् ।

यता मेयर अजय प्रकाश भने भागबन्डा नमिल्दा पालिकामा समस्या उत्पन्न भएको बताउँछन् ।

‘उहाँ (उपमेयर रितादेवी) अहिलेसम्म न्यायिक समितिको बैठकमा उपस्थित नै हुुनुुभएको छैन । पालिकाले खर्च गर्ने सबै पैसा उहाँलाई दिएपनि पुुग्दैन, काम गर्नभन्दा पहिला उहाँलाई पैसा चाहिन्छ’, मेयर अजय प्रकाशले वडापालिकासँग भने ।

मेयर प्रकाशले उपप्रमुुखकै कारण कर्मचारीले चार महिनादेखि तलव नपाएको बताए । उपमेयर रितादेवीले आफ्ना परिवारका सदस्यलाई नगरपालिकामा जागिर दिलाएर गैरकानुनी काम गरेको मेयरको भनाइ छ ।

‘उपप्रमुखले भतिज÷भतिजी सबैलाई जागिर दिनुुभएको छ । उहाँको परिवारका ४ जनालाई हामीले जागिर दिनुुपरेको छ । अरु कर्मचारीहरुले ४ महिनादेखि तलव पाएका छैनन् । तर उहाँका चार जना बडीगार्डले प्रमुख प्रशासकीय अधिकृतलाई थर्काएर तलब पाइरहुनुुभएको छ,’ मेयर प्रकाशले भने ।

उपमेयर रितादेवीले आफ्ना भतिज भतिजीलाई बढीगार्ड बनाएर नगरपालिकामा जागिर खुवाएको मेयर अजय प्रकाशको भनाइ छ ।

उपमेयर रितादेवी भने मेयर अजय प्रकाशले मनलाग्दी गरेकोले अति भएपछि तालाबन्दी गरेको दाबी गर्छिन् ।

‘कुनै पनि शीर्षकमा खर्च गर्नुअघि खर्चको प्रस्तावमाथि कार्यपालिका बोर्डको बैठकबाट सुनिश्चित गर्नुपर्ने हुन्छ । नगरक्षेत्रअन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत् महसुलबापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने हुन्छ । नगरपालिका मातहत तथा कार्यालयमा विगतमा खट्दै आएको कर्मचारी, डोर, करार, सफाइकर्मी लगायत सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने वा नराख्नेबारे छलफल हुनुपर्छ । तर, यी काम भएनन्, त्यसैले यिनै माग राखेर मैले नगरपालिकामा ताला लगाइदिएकी छु,’ उपप्रमुख रितादेवीले भनिन् ।

उपप्रमुख देवीसहित वडा नम्बर १ का वडाध्यक्ष भूपेन्द्र कुशवाहा, वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा, वडा नम्बर ७ का वडाध्यक्ष सहिद मिया, कार्यपालिका सदस्य जामुन ठाकुरलगायत ताला लगाउन गएका थिए । 

तर, मेयर अजय प्रकाश भने आफूले अनियमितता नगरेको र समस्याको समाधान वार्ताबाट गर्न तयार रहेको बताउँछन् ।

‘आरोप लगाउन सजिलो छ । कसैको उक्साहटमा ताला लगाउनु उचित हुँदैन । पालिकाका ४ जनाले भन्दैमा मैले अनियमितता गरेको हुँदैन, मसँग प्रमाण सुरक्षित छ, मलाई आरोप लगाउनेले पनि आरोप पुष्टी गराउन सक्नुपर्छ’, मेयर अजय प्रकाशले भने ।

गत स्थानीय तह निर्वाचनमा सो नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका थिए । अर्थात मेयर अजय प्रकाश र उपमेयर रितादेवी दुबै जना नेपाली काँग्रेससँग आवद्ध छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update