Odapalika - The Fourth Estate - चौथो अंग
शहरमा लोकप्रिय बनिरहेको एथर इभी ग्रामीण र अफरोडमा कतिको उपयोगी होला ?

काठमाडौँ । पछिल्लो समय एथर इलेक्ट्रिक स्कुटर नेपालीको रोजाइमा पर्न थालेको छ । गत कात्तिकदेखि नेपालमा वैद्य इनर्जीले आधिकारिक रुपमा भित्र्याएको एथर पछिल्लो समय धेरै उपभोक्ताको रोजाइमा पर्न थालेको हो । 

वैद्य इनर्जीले पहिलो लट सोल्ड आउट गरेर दोस्रो र तेस्रो अडरका लागि भारतीय कम्पनीसँग माग गरिएको जनाएको छ । 

‘हामीले पहिलो लटमा १२० वटा स्कुटर ल्याएका थियौँ । सबै बिक्री भएपछि कम्पनीसँग दोस्रो र तेस्रो लटका लागि आग्रह गरिसकेका छौँ,’ वैध इनर्जीका मार्केटिङ म्यानेजर प्रशान्त खत्रीले वडापालिकासँग भने ।

कम्पनीले बिक्री गर्ने एथरका स्कुटरको बिक्रीपछिको सेवालाई मुख्य प्राथमिकतामा राखेको कम्पनीको भनाइ छ । एथर स्कुटरमा ४० मिनेट चार्ज गर्दा ८० प्रतिशत ब्याटी फूल हुन्छ । 

भाटभटेनीमा चार्जिङ स्टेशन

कम्पनीले काठमाडौँ उपत्यकाका विभिन्न डिपार्टमेन्टल स्टोर (भाटभटेनी) भएका स्थानमा चार्जिङ स्टेशन जडान गर्ने तयारी गरेको छ । सुरुवाती चरणमा भाटभटेनीसँग चार्जिक स्टेशन सेयर गर्ने तयारी भएको खत्रीले जानकारी दिए । 

उनका अनुसार सुरुवाती चरणमा बौद्ध, नक्साल, महाराजगञ्ज, कलंकी र राधेराधेलगायतका विभिन्न सुपरमार्केटमा फास्ट चार्जिङ स्टेसन बनाइनेछ । त्यस्तै, उनले अन्य विभिन्न सुपर मार्केट तथा क्याफेहरुमा पनि आवश्यकताअनुसार चार्जिङ स्टेसन बनाइने जानकारी दिए । 

फास्ट चर्जिङ स्टेसनमा चार्ज गर्दा शून्यदेखि ८० प्रतिशत चार्ज गर्न ४० मिनेट लाग्ने कम्पनीले बताएको छ । कम्पनीले ल्याएको इलेक्ट्रिक स्कुटर २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको व्याट्री क्षमतामा गरी २ भेरियन्टमा छन् ।

२.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको भेरिएन्टले फुल चार्जमा १ सय ११ किलोमिटर रेन्ज दिन्छ भने यसको फुल स्पिड ९० किलोमिटर प्रतिघन्टा छ । यो ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन सक्छ । 

त्यस्तै, ३.७ किलोवाट आवर ब्याट्री क्षमता भएको भेरियन्टले फुल चार्जमा १ सय ५० किलोमिटर रेन्ज दिन्छ । ९० किलोमिटर प्रतिघन्टा टप स्पिड भएको यो स्कुटर ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ ।  अत्याधुनिक डिजिटल सिस्टममा बनाइएका यी स्कुटरमा ७ इन्चको टचस्क्रिन डिस्प्ले छ ।

यसको मद्दतमा चालकले सजिलैसँग फोन कल गर्न, गीत सुन्न, गुगल म्याप प्रयोगलगायत काम गर्न सक्छन् । त्यस्तै, यसमा हिल होल्ड एसिस्ट, रिभर्स गियरलगायत फिचर छन् । त्यस्तै, कम्पनीले निकट भविष्यमै अन्य मोडल पनि नेपाल भित्र्याएर उपभोक्तालाई उपलब्ध गराउने योजना बनाएको छ ।

कम्पनीले २.९ किलोवाट आवर ब्याट्री भएको स्कुटरको मूल्य ३ लाख ८५ हजार रुपैयाँ र ३.७ किलोवाट आवरको ब्याट्री भएको स्कुटरको मूल्य ४ लाख २० हजार रुपैयाँ तोकेको छ । 

एथर ‘४५० एक्स’ लाई सिंगल चार्जमा १०० किलोमिटरदेखि १४६ किलोमिटरसम्म गुडाउन सकिने छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ ।

एथर ‘४५० एक्स’ फिचर लोडेड इलेक्ट्रिक स्कुटर हो । यसमा ७ इन्चको टीएफटी स्मार्ट टच डिस्प्ले उपलब्ध छ । जसमा गुगल म्याप, नेभिगेशन फिचर, टायर प्रेशर मोनिटर लगायत फिचर उपलब्ध छन् ।

यसमा सेग्मेन्ट फ्रष्ट फिचरको रुपमा हिल होल्ड, बाइब्री क्यालिपर, टच डिस्प्ले, ५ राइड मोड, बेल्ट ड्राइभ, फलसेफ जस्ता फिचर उपलब्ध छन् ।

अफरोडमा प्रयोग गर्न मिल्छ ?

कम्पनीका मार्केटिङ म्यानेजर खत्रीका अनुसार एथर इलेक्ट्रिक स्कुटर अफरोडमा चलाउनको लागि पनि कुनै समस्या छैन । पिकअपको समस्या नहुने भएकोले ग्रामीण सडकमा पनि यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यद्यपि, कम्पनीले अहिले विक्री भइसकेका स्कुटरका ग्राहकको सन्तुष्टीलाई उच्च प्राथमिकता दिएको छ । त्यसैकारण पहिलो चरणमा शहरी क्षेत्रमा चार्जिङ स्टेसन बनाएर ग्राहकलाई सन्तुष्ट बनाउने कम्पनीको योजना छ ।

‘हाम्रो पहिलो ध्यान यसको विक्रीपछिको सेवा प्रभावकारी होस भन्नेमा नै छ । त्यसैले शहरी क्षेत्रमा चार्जिङ स्टेसन बनाउने र चार्जिङ स्टेसन पनि यस्तो ठाउँमा बनाउने जहाँ चार्जिङ गर्दा यसका उपभोक्ताले अन्य काम गर्न सकून् । त्यसैले हामीले भाटभटेनी, क्याफे जस्ता ठाउँ रोजेका हौं । अफरोडमा चलाउनको लागि कुनै समस्या छैन । ग्रामीण क्षेत्र र अफरोडको यात्रा गर्दा चार्जिङ उपलब्ध हुन्छ कि हुदैन भन्ने कुरा भने आफूले विचार गर्नुपर्छ,’ मार्केटिङ म्यानेजर खत्रीले भने ।

उनले काठमाडौँ उपत्यका बाहिर पोखरा, विराटनगर, नारायणघाट, बुटबल जस्ता शहरी क्षेत्रमा चाढै नै यो स्कुटरको विक्री सुरु हुने बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update