Odapalika - The Fourth Estate - चौथो अंग
हिमालय एअरलाइन्स् बन्यो आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा

काठमाडौँ । नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्स आईओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा कम्पनी बनेको छ । 

२८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) द्वारा ३ मार्च २०२५ सम्म मान्य हुने गरी प्राप्त आईओएसए प्रमाणीकरण एक कोसेढुंगाको रुपमा उपलब्धि हासिल भएको हिमालय एयरलाइन्सले जनाएको छ । 

‘हिमालय एअरलाइन्स् प्रा लि आईओएसए कार्यक्रम म्यानुअलको प्रावधान अनुसार आइएटीए अपरेशनल सेफ्टी अडिट प्रोग्राम अन्तर्गत आईओएसए अपरेटरको रूपमा सफलतापूर्वक दर्ता भएको छ’, उक्त प्रमाणपत्रमा लेखिएको छ ।

हिमालय एअरलाइन्स्का लागि आईओएसए प्रमाणीकरणले हिमालय एअरलाइन्स्ले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको कम्पनीले जनाएको छ । नेपालको पहिलो र एकमात्र आईओएसए प्रमाणित वायुसेवाको रूपमा हिमालय एअरलाइन्स्ले हवाई सुरक्षाको आफ्नो प्रतिबद्धताका सम्बन्धमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नेपालको उडड्यन उद्योगमा सकारात्मक परिवर्तनको संकेत गर्दै भने, ‘हवाई सुरक्षा र अपरेशनल उत्कृष्टताका लागि नयाँ आयामहरू स्थापित गर्दै यस क्षेत्रको उदाहरणका रूपमा नेतृत्व गर्न पाउँदा हामी गर्व गर्दर्छौं । यस प्रमाणीकरणले उच्च सुरक्षा मापदण्डहरू कायम राख्नका लागि हाम्रा निरन्तर प्रयासहरूलाई मात्र प्रमाणित गर्दैन, हामीलाई विश्वव्यापी उड्डयन समुदायमा एक विश्वसनिय वायुसेवाको रूपमा समेत स्थान दिन्छ । हामी आगामी वर्षहरूमा यस उपलब्धिलाई जारी राख्न तत्पर छौं ।’

यसै सिलसिलामा उड्डयन सुरक्षा तथा सुरक्षा नियमन निर्देशनालयका उपमहानिर्देशक नविना कर्माचार्यले भनिन, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणको तर्फबाट, म हिमालय एअरलाइन्स्लाई हवाई सुरक्षाप्रतिको असाधारण समर्पणको लागि तथा प्रतिष्ठित आईओएसए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दछु । हिमालय एअरलाइन्स्को यो उपलब्धिले निश्चित रूपमा यात्रुहरूको विश्वासलाई सुदृढ गर्न तथा देशमा हवाई यात्राको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउँछ ।’

आइएटीए अपरेशनल सेफ्टी अडिट अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसन द्वारा वायुसेवाहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त परीक्षण कार्यक्रम हो, जुन अपरेशन सुरक्षा वृद्धि गर्ने र वायुसेवा उद्योगभित्र साझा सुरक्षा मानक प्रवद्र्वन गर्ने प्राथमिक लक्ष्यका साथ वायुसेवाको अपरेशन व्यवस्थापन र नियन्त्रण प्रणालीहरूको मुल्याङ्कन गर्नको लागि  विकास गरिएको हो । 

यो प्रक्रियामा वायुसेवाहरूको नीति, प्रक्रिया र अभ्यासहरूको परीक्षण समावेश हुन्छ । यसमा कागजातहरुको मुल्याङ्कनका साथै साइटको समीक्षा समेत समावेश हुने गर्दछ । परीक्षणको सफलता र सबै निष्कर्षहरूको पालना पश्चात वायुसेवाहरूलाई आईओएसए प्रमाणीकरण प्रदान गरिन्छ । तसर्थ, आईओएसए  दर्तालाई सुरक्षा उत्कृष्टताको चिन्हको रूपमा हेरिन्छ, जुन आइएटीए सदस्यताको लागि पूर्व शर्त पनि हो ।

 हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु कम्पनीको मुख्य उद्देश्य रहेको छ । 

हिमालय एअरलाइन्स््सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२०–२१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स््ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update