Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरले बीमा गरेकाको उपचार पाटन अस्पतालले गर्ने, यी हुन पाइने सुविधा 

ललितपुर । ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ । 

ललितपुर महानगरमा बुधबार आयोजित कार्यक्रममा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र महानगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झदारी पत्रमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. पारस कुमार आचार्य र महानगर प्रमुख चिरीबाबु महर्जनले हस्ताक्षर गरे ।  

हस्ताक्षर कार्यक्रममा बोल्दै महानगर प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य क्षेत्र महानगरको प्राथमिकतामा रहेको बताउँदै स्वास्थ्य बीमा कार्यक्रम मार्फत बीमितहरुले अब्बल स्वास्थ्य सेवा प्राप्त गर्ने बताए । 

स्वास्थ्य क्षेत्रमा विशेष पहिचान बनाएको पाटन अस्पतालसँग सहकार्य गर्न पाउँदा आफू ज्यादै खुशी भएको नगर प्रमुखको भनाइ थियो । उनले भने, ‘स्वास्थ्य क्षेत्रको सर्वोत्कृष्ट संस्थासँग सहकार्य गर्दा महानगरले लागू गरेको यो कार्यक्रममा धेरै राम्रो हुने विश्वास लिएको छु । ’ 

ललितपुर महानगरले नागरिकको जीवनस्तर सहज बनाउने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको उनको भनाइ छ । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार आचार्यले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई योग्य ठानेर मौका दिएको भन्दै महानगरलाई धन्यवाद दिए । 

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले मुलुकै जेठो नगरपालिका ललितपुर महानगरले पाटन अस्पताल जस्तो विशेष छवि बनाएको संस्थासँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको प्रष्ट पारे । 

ललिपुर महानगरले महानगरको १०५औँ स्थापना दिवस गत २ पुसमा अपाङ्गता भएका २ जना व्यक्तिलाई बीमा कार्ड प्रदान गरेर स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको थियो । 

महानगरले वडाबाट बीमितहरुको तथ्यांक संकलन गर्न दर्ता सहयोगी छनौट गरिसकेको छ । दर्ता सहयोगीले तालिम पश्चात नाम संकलन गर्नेछन् । १ फागुनदेखि बीमा कार्यक्रम लागू हुनेछ  ।

समझदारीअनुसार विशेषज्ञ चिकित्सक सहितको बहिरंग सेवा, आकस्मिक सेवा ,फार्मेसी सेवा, रेडियोलोजी, एम्बुलेन्स सेवा पाटन अस्पतालले उपलब्ध गराउनेछ । 

स्वास्थ्य बिमा अन्तर्गतको दाबी भुक्तानीको विवरण हरहिसाब तोकिए बमोजिमको ढाँचामा राख्ने तथा स्वास्थ्य बीमा बोर्डबाट भुक्तानी लिने दायित्व महानगरको हुनेछ । यो समझदारीको अवधि १० वर्षसम्म रहेछ ।
 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update