Odapalika - The Fourth Estate - चौथो अंग
मेयरले कुटे प्रशासकीय अधिकृत, सिडिओ कहाँ पुगेर गरियो मर्यादामा बस्ने कागज 

काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले प्रशासनिक बिवादमा आफुमाथि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले दाबी गरेका छन् । 

बजेट खर्चको अख्तियारी, ज्यालादारी कर्मचारीको अवकासलगायतका विषयमा विवाद वढेपछि मेयरले उपमेयर मुना कुमारी पोखरेलको कर्यकक्षमा लगेर गाली गर्दै कुटपिट गरेको घिमिरेको दाबी छ । तर मेयरले भने यो अभियोग अस्वीकार गरेका छन् ।  

अधिकृत घिमिरेका अनुसार बजेट खर्चको अख्तियारी दिन पटक पटक आग्रह गर्दापनि कानुनसम्मत रुपमा अख्तियारी नदिएको विषयमा बिवाद भएपछि मेयर हातपातमा उत्रिएका हुन् । 

हातपातमा उत्रिएलगत्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले अति आवश्यकबाहेकको काम ठप्प पार्दै आन्दोलन नै गरेका छन् । 

कर्मचारी आन्दोलनसँगै यो विवाद सिडिओ र एसपी कार्यालयसम्म पुग्यो ।  अन्तत मंगलबार सिडिओ र एसपीको रोहवारमा मेयर र अधिकृत दुबैले अबदेखि पदीय मर्यादाअनुसार काम गर्ने र बजेट खर्चको गाँठो फुकाउने लिखित कागज गरेपछि तत्कालका लागि मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको टसल सकिएको छ । 

के भएको हो ? 

घटना हो २३ पुसको । प्रमुख प्रशासकीय अधिकृतलाई मेयर ललनप्रसाद गुप्ताले उममेयरको कार्यकक्षमा बोलाए । प्रमुख प्रशासकीय अधिकृतले बजेट खर्चको अख्तियारी कानुनसम्मत रुपमा दिन आग्रह गरे । 

मेयरले यसअघिनै आफुले २ पटक अख्तियारी दिएको बताए । तर अधिकृतले काजगमा लेखेर नभइ स्थानीय तहको बजेट हिसाव किताब राख्न संघीय सरकारले बनाइदिएको अनलाइन सिस्टम ‘स्थानीय तह संचित कोष व्यवस्थापन प्रणाली’ (सुत्र)मार्फत बजेट खर्चको अख्तियारी दिनुपर्ने बताए । 

मेयरले यसअघिनै लिखितरुपमा अख्तियारी दिएको भन्दै बित्तिय समानीकरण अनुदानको रकम किन रोकिएको भन्दै प्रश्न गरे । उनले भूमि आयोगमा नियुक्त गरिएका ४ जना ज्यालादारी कर्मचारीलाई किन तलव नदिएको र अवकाश दिएको भन्ने विषयमा समेत अधिकृतसँग चासो राखे । 

यो विषमा बिवाद वढेपछि उपमेयरकै कार्यकक्षमा मेयरले गाली गर्दै हातपात गरेको अधिकृत घिमिरेको भनाइ छ । 

त्यसपछि भयो मिलापत्र 

घटनाले उग्ररुप लिदै गयो । कर्मचारीले काम ठप्प पार्ने चेतावनी दिए भने मेयरले आफुले गल्ती नगरेको र अधिकृत नै घटनामा दाषी भएको बताए । 

त्यसपछि घटना जिल्ला प्रशासन कार्यालयमा पुग्यो । प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) र जिल्ला प्रहरी प्रमुख (एसपी)समेतको रोहबरमा एउटा कागज बन्यो ।

घिमिरेका अनुसार मेयरले आइन्दा पदीय मर्यादाअनुसार अघि वढ्ने लखित प्रतिवद्धता जनाए । त्यसपछि स्थानीय सरकार संचालन ऐनको दफा ७३ अनुसार सुत्रमार्फत बजेट खर्चको अख्तियारी दिने विषयमा कार्यपालिका बैठक बोलाएर समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । 

र, बस्यो कार्यपालिका बैठक 

जिल्ला मुकाममा भएको सहमति अनुसार मेयरले आज कार्यपालिका बैठक बोलाए । बैठकमा अधिकांश सदस्यले सुत्रमार्फत बजेट खर्चको अख्तियारी दिनुपर्ने राय दिएपछि मेयर सोअनुसार काम अघि वढाउन सहमत भएका छन् । आज बसेको बैठकले सुत्रमार्फत बजेट अद्यावधिक गराउने अख्तियारी पनि प्रमुख प्रशासकीय अधिकृतलाई नै दिएको छ । 

र बैठकले प्रमुख प्रशासकीय अधिकृतलाइृ जनताका कामका लागि बनाइएका योजनामा सहयोग गर्नसमेत निर्देशन दिने निर्णय गरेको छ । 

मेयर भन्छन्ः ३ पटक अख्तियारी दिइसकेँ, हाकिम  फटाहा हो 

यता मेयर गुप्ताले भने प्रमुख प्रशाासकीय अधिकृतका कारण नगरपालिकाको काम लथालिंग बनेको बताए । 

मेयर गुप्ताकाअनुसार सुत्र र कर्मचारी अवकाशका विषयमा विवाद हुँदा पहिला अधिकृत घिमिरेले नै हातपात गर्न खोजे ।  ‘विवाद भएको हो, सोफामा बसेर उनले दुई पटक हात उठाए, मैले यसो नगर्नुस् हाकिमसाव भनेको हो, उसले त मेयरले कुट्यो भनेर हल्लाखल्ला मच्चाएर बबण्डर नै गर्यो,’ मेयर गुप्ताले वडापालिकासँग भने । 

मेयरका  अनुसार नगरसभाले ८९ करोडको बजेट पारित गरेको थियो । त्यसपछि बजेट खर्चको अख्तियारी माग्दै अधिकृतले ६४ करोडको बजेटको अख्तियारी मागे । र हाल उनले मेयरसँग ६४ करोड रुपैयाँको बजेटको खर्च गर्ने अख्तियारी माग्दै पत्र लेख्न भनेका कारण विवाद वढेको हो । 

प्रशासकीय अधिकृतकै कारण विगतमा कर्मचारीले तलव खान नपाएको, मेयरले अघि सारेका योजना ठप्प भएको जाडोमा स्थानीयलाई सिरक दिने, दाउरा दिने लगायतका काम अलपत्र परेको मेयरको भनाइ छ । 

उनकाअनुसार आज बसेको कार्यपालिका बैठकले रोकिएका कम अघि वढाउने निर्णय गर्दै बजेट खर्चको अख्तियारी दिने दिने तर बिगतमा रोकिएका काम प्रशासकीय अधिकृतले सुचारु गराउनुपर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update