Odapalika - The Fourth Estate - चौथो अंग
विपद जोखिम उपकेन्द्र स्थापनाको तयारीमा ललितपुर महानगरपालिका 

ललितपुर । विपद् जोखिम व्यवस्थापन विज्ञहरुले ललितपुर महानगरपालिका भित्र  ४ वटा विपद् जोखिम व्यवस्थापन उपकेन्द्रहरु अत्यावश्यक भइसकेको बताएका छन् । 

महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उनीहरुले सहरमा बढ्दै गएको जनघनत्व, सवारी चाप लगायतका कारणले तीन वटा उपकेन्द्र पर्याप्त नभएको बताए । 

महानगरले धापाखेल, बालकुमारी गोइत दोमार र बुङमतीमा विपद् जोखिम व्यवस्थापन उपकेन्द्र खेल्न चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जनघनत्व, साँघुरा सडक र बढ्दो सवारी चापका कारण कम्तीमा चार ठाउँमा उपकेन्द्र खोल्नु अत्यावश्यक भएको बताए । महानगरले विपद् जोखिम व्यवस्थापनामा महानगर पायोनियर भएको दाबी गरे । 

महानगर प्रमुख चिरीबाबु महर्जनले पुल्चोकमा रहेको जुद्धवारुण कार्यालयलाई केन्द्र मानेर सहरको अन्य ३ स्थानमा उपकेन्द्र खोल्न महानगरले दमकल खरिद गरेको बताए । उनले भने, ‘दुईवटा अत्याधुनिक दमकल किनेका छौंंँ, उपकरणहरु पनि थप्दै जानेछौं ।’ नगर प्रहरी पनि ५० जना थपेको उनले बताए । 

एनसेटका जिमी लामाले प्रस्तुतिकरण गर्दै भैसीपाटीमा एक उपकेन्द्र खोल्नुपर्ने बताए । उनले भने, ‘उपकेन्द्र खोल्ने भनिएका अन्य तीन स्थान, दुरी लगायतलाई विश्लेषण गर्दा भैसीपाटीमा उपकेन्द्रको आवश्यकता देख्यौं ।’ महानगर प्रमुख महर्जनले सबै काम एकै आर्थिक वर्षको बजेटबाट मात्रै संभव नहुने बताउँदै बहुवर्षीय योजनामा राखेर काम अघि बढाउने बताए ।

ललितपुरका प्रहरी प्रमुख शेखर खनालले प्राकृतिक प्रकोप र विपद्का बेला उद्धार गर्न खट्नुपर्ने प्रहरीको कर्तव्य भएको बताए ।  

नेपाल रेडक्रस सोसाइटी ललितपुरका बाबुराजा महर्जनले विपद जोखिम न्यूनीकरणका लागि स्थानीय स्वयंसेवकलाई परिचालन गर्नु अत्यावश्यक भएको बताए । वडैपिच्छे तालिमप्राप्त स्वयंसेवकको समूह तयार पार्नु पर्ने धारणा उनको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update