Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगरका १० हजार किसानले पाए दूधमा ६ करोड ३७ लाख अनुदान

काठमाडौँ । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई छ करोड ३७ लाख रुपैयाँ अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन् ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो । उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो । त्यसपछिका दुई वर्ष प्रतिलिटर एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर तीन रुपैयाँ अनुदान दिइँदै छ । गत वर्षको दूधको अनुदान रकम यो वर्ष दिइँदै छ । 

बजेटमा पाँच करोड ५० लाख रुपैयाँ दूधको अनुदानमा विनियोजन गरिएकामा अपुग भएपछि पूरक बजेटमार्फत ८७ लाख रुपैयाँ थप गरिएको प्रमुख दाहालले जानकारी दिईन । उनका अनुसार यति ठूलो रकम दूधमा अनुदान दिने स्थानीय तह भरतपुर हो ।

किसानलाई दूधमा अनुदान दिएसँगै दूध उत्पादन बढेको छ । अघिल्लो वर्ष दूधमा अनुदान पाँच करोड १० लाख रुपैयाँ दिइएको थियो । दूधको उत्पादन बढेसँगै अनुदान रकम थपिएको हो । ‘अन्य क्षेत्रसँगै कृषि र पशुपालनमा महानगरले प्राथमिकता दिएर काम गरिरहेको छ’, उनले भनिन ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीका अनुसार सहकारीमार्फत कृषकको बैंक खातामा अनुदान रकम पु¥याइनेछ । अनुदान पाउने भएसँगै कृषक उत्साहित भएको उनले बताए । ‘हामीले बाँड्ने रकम ठूलो छ । धेरै कृषक यसबाट लाभान्वित हुनुभएको छ’, उनले भने । कृषि र पशुपालनमा कसरी राम्रो गर्न सकिन्छ भन्नेमा महानगर रहेको उनले जानकारी दिए ।

महानगरका पशुसेवा शाखा प्रमुख श्यामराज देवकोटाका अनुसार सहकारी र फार्मबाट आवेदन आइसकेकाले माघको पहिलो सातादेखि अनुगमन थालिँदै छ । यससँगै प्रक्रिया अघि बढाएर वैशाखसम्ममा अनुदान रकम कृषकको खातामा पु¥याइने उनले बताए ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले कृषिमा अनुदानका लागि रु आठ करोड विनियोजन गरेको थियो । पूरक बजेटमार्फत ८७ लाख रुपैयाँ थप गरिएको हो । यससँगै महानगरपालिकाले माछा पोखरीमा विद्युत्को ५० प्रतिशत अनुदान दिँदै आएको छ । पशुचौपायलाई नाम्ले जुकाको औषधि निःशुल्क वितरण, घरमा गएर बाँझोपन परीक्षण, काउ म्याट वितरण, पशु स्वास्थ्य शिविर गर्दै आएको छ । निर्वाहमुखी कार्यक्रमअन्तर्गत, बाख्रा, बङ्गुर, कुखुरा, हाँसमा अनुदान दिँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update