Odapalika - The Fourth Estate - चौथो अंग
१२ वर्षदेखि अलपत्र पुल सञ्चालन गर्न सांसदले गुहारे मन्त्री 

काठमाडौँ । उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल १२ वर्षदेखि अलपत्र परेपछि उदयपुरका सांसदहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री गुहारेका छन् । 

मन्त्री प्रकाश ज्वालालाई भेटेर उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेर मन्त्रीको ध्यानाकर्षण गराएको हो । 

सांसदसहितको टोलीलाई मन्त्री ज्वाला, कार्यबहाक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकालसहितले निर्माण कम्पनीलाई ताकेता गरेर १ बर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन्  । 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले बर्षौदेखि अलपत्र परेको त्रियुगा नदीमाथीको पुल एक बर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण ब्यवसायीलाई निर्देशनसमेत दिए ।

३ बर्षभित्र काम सक्नेगरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले काम थालेको थियो । ३ बर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ बर्षपछि निर्माण सम्पन्न भएको थियो । निर्माण सम्पन्न भई हस्तान्तरण नगरिदै २०७८ सालमा पुलका ३ स्पान र २ पिलर भत्किएका थिए ।

पुल भत्किएको २ बर्षसम्म निर्माण कम्पनीले काम नथालेपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधिहरु डेलिकेशनका लागि आइतवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए । 

‘निर्माण कार्य थालिएको १२ बर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य हो । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण ब्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण कार्य एक बर्षभित्र सिध्याउनुपर्दछ’ मन्त्री ज्वालाले भने । 
 

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update