Odapalika - The Fourth Estate - चौथो अंग
सिरीजङ्घा गाउँपालिकाले भन्योः विद्यालयमा दलका गतिविधि गर्न र बन्द गर्न दिन्नौँ 

काठमाडौँ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयमा राजनीतिक गतिविधि गर्न रोक लगाउने निर्णय गरेको छ । 

विद्यालयभित्र र आसपासका क्षेत्रमा राजनीतिक दलहरुको आमसभा, जुलुस, प्रदर्शन, भित्ते लेखनजस्ता कार्य हुने गरेको भन्दै पालिकाले यस्ता कार्यमा पूर्ण रोक लगाउने निर्णय गरेको हो । 

विद्यालय शान्तिक्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिकाको पूर्ण कार्यान्वयन गराउने भन्दै गत २२ पुसमा बसेको गाउँ कार्यपालिकाको बैठकले विद्यालयभित्र हुने राजनीतिक गतिविधिमा रोक लगाउने निर्णय गरेको हो । 

यो निर्णय कार्यान्वयन गर्न भन्दै पालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका प्रमुखले संयुक्त रुपमा अपील जारी गर्दै गाउँपालिकाको निर्णय कार्यान्वयनमा सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ । 

कुनै पनि समूहद्वारा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्ने गरी हातहतियार देखाउने, त्रास फैलाउने, कुटपिट गर्ने, विद्यालय बन्द गराउने, बल प्रयोग गर्ने, धम्की दिने, चन्दा आतङ्क मच्चाउने, विद्यालय हाताभित्र दलगत आमसभा, संगठन निमाृण गर्नेजस्ता काममा पूर्ण रोक लगाउने निर्णय भएकोले सोको कार्यान्वयन गर्न अपीलमा भनिएको छ । 

निर्देशिका लागू गर्न गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत प्रतिवद्धता जनाएको थियो । निर्णय कार्यान्वयनका लागि गाउँपलिकाले ८ माध्यमिक र ३१ आधारभूत गरी ४० विद्यालयलाई पत्राचार समेत गरिसकेको जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update