Odapalika - The Fourth Estate - चौथो अंग
रौतहटका तीन नगरपालिकामा ताला, एक सातादेखि सबै काम ठप्प

काठमाडौँ । करिब एक सातादेखि रौतहटका तीन स्थानीय तहमा दैनिक कामकाज नै ठप्प भएको छ । 

पालिकाका प्रमुख र उपप्रमुखबीच विवाद बढेपछि एक सातादेखि पालिकामा ताला लागेको हो । जिल्लाको कटहरिया र गरुडामा उपप्रमुखको नेतृत्वमा तालाबन्दी गरिएको हो भने फतुवा विजयपुरमा नेपाली कांग्रेस निकटका नेताहरुले काम गर्न नदिएको पाइएको छ । 

मेयरले भ्रष्टाचार गरेको भन्दै उपमेयरले लगाइन् ताला

जिल्लाको कटहरिया नगरपालिकाको कार्यालयमा उपमेयरले तालाबन्दी गरेकी छिन् । नगरपालिकाको उपपप्रमुख रितादेवीले गत सोमबार साँझदेखि पालिकामा तालाबन्दी गरेकी हुन् ।

मेयर अजय प्रकाशले आफूखुशी कर्मचारी नियुक्त गरेको, खर्चको हिसाब माग गर्दा नदिएको जस्ता आरोप लगाएर उपप्रमुख रितादेवीले सोमबादेखि तालाबन्दी गरेकी हुन् । 

उनले मेयरले आफूखुशी खर्च गर्ने गरेको आफूले खर्च माग गर्दा नदिएको उनको आरोप छ । 

‘मेयरज्यूले आफूखुशी कर्मचारी नियुक्त गर्नुभएको छ । उहाँ आफ्नै सुरुमा पालिकामा चाहिने आवश्यक सामग्री सबै आफै खरिद गर्ने गर्नुभएको छ । मैले केमा कति खर्च भयो भनेर माग गर्दा उहाँले अहिलेसम्म विवरण दिन सक्नुभएको छैन’, उपमेयर रितादेवीले वडापालिकासँग भनिन् । 

उनले मेयरले १८ गते बैठक राखेर सबै खर्च विवरण सार्वजनिक गर्ने बताएपनि बैठकमा नआएको आरोप लगाइन् ।

यता मेयर अजय प्रकाश भने भागबन्डा नमिल्दा पालिकामा समस्या उत्पन्न भएको बताउँछन् ।

‘उहाँ (उपमेयर रितादेवी) अहिलेसम्म न्यायिक समितिको बैठकमा उपस्थित नै हुनुभएको छैन । पालिकाले खर्च गर्ने सबै पैसा उहाँलाई दिएपनि पुग्दैन, काम गर्नभन्दा पहिला उहाँलाई पैसा चाहिन्छ’, मेयर अजय प्रकाशले वडापालिकासँग भने ।

मेयर प्रकाशले उपप्रमुखकै कारण कर्मचारीले चार महिनादेखि तलव नपाएको बताए । उपमेयर रितादेवीले आफ्ना परिवारका सदस्यलाई नगरपालिकामा जागिर दिलाएर गैरकानुनी काम गरेको मेयरको भनाइ छ ।

गत स्थानीय तह निर्वाचनमा सो नगरपालिकाको मेयर र उपमेयर दुबै पदमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका थिए । अर्थात मेयर अजय प्रकाश र उपमेयर रितादेवी दुबै जना नेपाली काँग्रेससँग आवद्ध छन् ।

एक सातादेखि गरुडा नगरपालिकाको कामकाज ठप्प

गरुडा नगरपालिकाकी उपप्रमुख पुनम चौधरीसहितका वडाध्यक्ष एक सातादेखि धर्नामा बसेका छन् । गत पुस २० गते पुनम कुमारी चौधरीको नेतृत्वमा लगार्र्ईएको तालाचाबी अझै खुल्न सकेको छैन् । 

मेयरले कन्थमणी प्रसाद कलवारले एकलौटी रुपमा काम गरेको, लुकाएर नगरसभा गरेको, नगरसभामा भएका निर्णय अझै सार्वजनिक नगरेको, आफूखुशी कर्मचारी नियुक्त गरेको, उपमेयर तथा वडाअध्यक्षको अधिकार सबै आफैले लिएको उनीहरुले आरोप लगाएका छन् । 

‘नियमित रुपमा पालिकामा हुने दैनिक कामकाजहरु गर्नेबेला हामी हक अधिकारको माग गर्दै धर्नामा बसेको आज ७ दिन भयो, उहाँहामीसँग सम्पर्कमा नै आउनुहुँदैन, धर्नामा बस्नुबाहेक हाम्रो अरु विकल्प केही छैन’,उनले भनिन । 

उनले वर्ताबाट समस्याको समाधान गर्नुपर्नेमा मेयर नै लुकेर हिड्दा पालिकाबाट हुनुपर्ने सम्पूर्ण कामहरु ठप्प भएको बताईन । 

उनले उपमेयरले पाउनुपर्ने तथा वडाअध्यक्षले पाउननुपर्ने अधिकार सबै मेयर कलवारले लिएको भन्दै उनले डेढ वर्षदेखि न्यायिक समितिको बैठक समेत बस्न नसकेको बताईन । 

यस्तै, फतुवा विजयपुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले ताला लगाएर विरोध गर्दै आएका छन् । 

पालिकाका मेयर गोपाल प्रसाद यादव निलम्बीत भएपछि निमित्त पाएकी उपप्रमुख ओमेया खातुनको कायैशैलिमा प्रश्न उठाउँदै वडाअध्यक्षहरुले पालिकामा तालाबन्दी गरेका हुन् । 

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update