Odapalika - The Fourth Estate - चौथो अंग
थारु बस्तीमा माघी रौनक, घरघरमा पाक्यो घोँघी र ढिकरी 

 

काठमाडौँ । बाँके, दाङसहितका देशभरका थारु बाहुल्य क्षेत्रमा  माघी पर्वको रौनक सुरु भएको छ । थारू समुदायको मुख्य पर्व माघीमा थारू बस्तीमा चहलपहल बढेको छ । 

कामका लागि बाहिर गएकाहरु माघी मनाउन घर फर्किएका छन् । गाउँघरमा माघी पर्वको चहलपहल सुरु भइसकेको बाँके टिटिहिरियाका थारु बडघर केलसिंह थारूले बताए । 

थारूका अनुसार दसैँ तिहारमा घर नआएका व्यक्ति पनि माघीमा घर फर्किएका छन् । माघी पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा समेत मान्ने गर्छन् । 

यस पर्वलाई थारू समुदायले बरका तेउहार (ठूलो पर्व) का रुपमा मनाउँछन् । ‘माघी हाम्रा लागि नयाँ वर्ष हो, माघीलाई हामी ठूलो पर्वका रुपमा मनाउँछौँ, वर्षभरि जो जहाँ भए पनि माघी मनाउन भने घर फर्कने गर्छन्,’ थारु भन्छन् ।  

माघीका अवसरमा थारू संस्कृति झल्कने नृत्यले गाउँघर गुञ्जयमान हुने गरेको छ । गाउँ थारू बस्तीमा युवायुवती माघीमा मघौटा, सखिया र हुरदङ्गा नाच नाच्ने गरेको थारू अगुवा बाँके राप्तीसोनारी–६ का सीताशरण थारू बताउँछन्

। उनका अनुसार माघे सङ्क्रान्तिको अघिल्लो दिन पुस मसान्तमा थारू समुदायमा जिता मार्ने (सामूहिक रुपमा सुँगुर, बङ्गुर मारेर खाने) गरिन्छ ।

थारूहरुले माघीमै वर्षदिनको योजना बनाउने गर्छन् । माघीमा बनाएको योजनाअनुसार नै परिवारका सदस्यहरु सबै आ–आफ्नो काममा लाग्छन् । घर छुट्टिने, खेतबाली लगाउने निर्णय पनि माघीमै गरिन्छ ।

यतिबेला थारू बस्तीका चोकचोकमा युवाको जमघट बढेको छ, बाहिरबाट कमाएर आएका आफ्ना साथीभाइसँग अनुभव साटासाट गर्नमा व्यस्त छन् । थारू समुदायमा माघे सङ्क्रान्तिको अघिल्लो दिन रातभर जाग्रम बसेर भजनकीर्तन गर्ने चलन छ । 

माघीका दिन बिहानै नजिकैको खोला नदीमा गई नुहाउने गरिन्छ । यस दिन खोला नदीमा गई नुहाउँदा वर्षभरिको पाप पखालिने जनविश्वास छ । 

नुहाएर आफूभन्दा ठूला मान्यजनलाई सेवा ढोक गरी आशीर्वाद लिने र साथीभाइसँग अङ्कमाल गरी माघीको शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

यो पर्वमा थारू जातिले विशेष परिकारका रुपमा ढिकरी (चामलको पीठोबाट बनाइने परिकार), माछा, घोँघी, सुँगर वा बङ्गुरको मासु र जाँड खाने तथा खुवाउने चलन छ । माघीमा गाउँका सबैजना जम्मा भएर वर्षदिनका लागि बड्घर (गाउँको अगुवा), चौकीदार र गुरुवा चयन गर्ने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update