Odapalika - The Fourth Estate - चौथो अंग
विद्यार्थीको निःशुल्क बीमा गर्दै चापाकोट नगरपालिका, यस्ता छन् सर्त 

काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । 

सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्न थालेपछि  अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको नगरपालिकाले जनाएको छ । 

चापाकोट नगरपालिकाका मेयर देवबहादुर खाणले १४औँ नगरसभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको बताए । 

बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण पछिल्लो समय गाउँ खाली हुँदै गइरहेकाले पनि यसको रोकथामका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले भूमिका खेल्ने उनको भनाइ छ । 

नगरपालिकाले कार्यविधि नै बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ । उक्त कार्यक्रमले सर्वसाधारणको स्वास्थ्यमा पहुँच पुग्नुका साथै सामुदायिक विद्यालयले प्रदान गर्ने शिक्षालाई गुणस्तरीय बनाउनका लागि पनि पालिकाले आवश्यक नीति, कार्यविधि तथा बजेटको सुनिश्चित गरेको मेयर बताउँछन् । 

नगरपालिकाभित्र ४५ सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार बालबालिकाका परिवारका सदस्यका लागि न्यूनतम ३ हजार ५०० रुपैयाँ बीमाबापतको रकम नगरपालिकाले भुक्तानी गरिदिने छ । 

उक्त रकमले ५ जनासम्मको परिवारले एक वर्षको अवधिसम्म एक लाख रुपैयाँबराबरको उपचार खर्च गर्न पाउने छन् । ५ जनाभन्दा बढीको परिवार भए पालिकाले प्रतिव्यक्ति ७०० रुपैयाँ थप गर्न लगाउने छ । 

नगरपालिकाका १० वडामा रहेका ४५ सामुदायिक विद्यालयमा करिब ५ हजार विद्यार्थी अध्ययनरत छन् ।
 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update