Odapalika - The Fourth Estate - चौथो अंग
आयल निगमको कार्यकारीका लागि १४ जनाको निवेदन,  राष्ट्र बैंकका निर्देशक चन्द पनि प्रतिस्पर्धामा

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् । ५ वर्षपछि सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशन नियुक्त गर्न गत ७ पुसमा सार्वजनिक सूचना नै जारी गरेको छ । 

आइतबारसम्म आवेदनको समय दिईएकोमा रिक्त रहेको कार्यकारी निर्देशकका लागि नेपाल राष्ट्र बैंकका निर्देशकसम्मले आवेदन दिएका हुन् । 

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका– ३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका– ८, काठमाडौंका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका– १४, चितवनका डा. डोलप्रसाद चापागाईं, टोखा नगरपालिका– ८, काठमाडौंका सहदेव चन्द, धनुषाधाम– २ का रामदेव यादव र राजविराज– १३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् ।

त्यस्तै, मोरङका तीनजना पंकजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । टोखा– ६, काठमाडौंका दिलीपशेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका– १, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर– ८, दाङका वसन्तकुमार पाण्डे, बाग्लुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका– २४ का शत्रुघ्नप्रसाद पुडासैनी रहेका छन् ।

निवेदन दिएकामध्ये सहदेव चन्द आइटी इन्जिनियर हुन् । उनी अहिले नेपाल राष्ट्र बैंकको गैर बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागमा निर्देशक पदमा कार्यरत छन् ।

गोरखाका भट्ट उद्योग मन्त्रालयमातहतकै विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को कार्यकारी निर्देशक हुन् । उनी त्यहाँ दोस्रो कार्यकाल बिताइरहेका छन् । 

त्यस्तै, निवेदन दिएकामध्ये दाङका पाण्डे हाल हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकको रूपमा कार्यरत छन् । पाण्डे ०७८ चैतमा हेटौँडा सिमेन्टको महाप्रबन्धक नियुक्त भएका थिए । 

टोखाका दिलीपशेखर श्रेष्ठ सहसचिवबाट अवकाश प्राप्त सिभिल इन्जिनियर हुन् । उनी सहरी विकास मन्त्रालयमातहतको सहरी विकास तथा भवन निर्माण विभागको उपमहानिर्देशकबाट अवकाश भएका थिए । उनले लामो समय पुनर्निर्माण प्राधिकरणमा समेत काम गरेका थिए ।

उद्योग मन्त्रालयको वाणिज्य तथा आपूर्तिसचिवको नेतृत्वमा छनोट समिति गठन हुने गरेको छ । सो समितिले निवेदन दिएका उम्मेदवारहरूलाई अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीनजनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने र तीमध्ये एकजनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान छ ।

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update