Odapalika - The Fourth Estate - चौथो अंग
प्रतिनिधि सभा बैठक आज, के गर्ला एमालेले ? 

काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक संसद भवन नयाँबानेश्वरमा आज (सोमबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध नगरे नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बनको सूचना बैठकमा दिइनेछ । 

सभामुख देवराज घिमिरेले रायमाझीको सांसद पद निलम्बन भएको सूचना बैठकलाई गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । ३१ वैशाखमा काठमाडौंबाट पक्राउ परेका रायमाझीको बल्ल सांसद पद निलम्बन गर्न लागिएको हो । 

त्यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची छ । 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

तर, प्रमुख प्रतिपक्षी एमाले १० साउनमा बसेको प्रतिनिधिसभा बैठकमा त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा सुना बरामद भएको र त्यसमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको जनाउँदै आएका छन् । उनीहरूको राजिनामा माग गरेर बैठक अवरुद्ध गरेपछि आजसम्मका लागि बैठक स्थगित गरिएको थियो । 

एमाले नेताहरुले माग सम्वोधन नभएसम्म बैठक चल्न नसक्ने बताएका कारण कुनै ठोस सहमति नभए आजको बैठक चल्न सक्ने देखिएको छैन ।  
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update