Odapalika - The Fourth Estate - चौथो अंग
बचतसँग जोडिए सुर्योदय नगरपालिकाका विद्यार्थी, पालिकाले थप्छ खातामा पैसा 

काठमाडौँ । इलामको सूर्योदय नगरपालिकाले विद्यार्थी लक्षित बाल बचत अभियान सुरु गरेको छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत अनिवार्य बैङ्क खाता खोलेर बचत गर्न थालिएको हो ।

उक्त कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि तयार गरी बाल बचत अभियान सञ्चालनमा ल्याएको नगरप्रमुख रणबहादुर राईले जानकारी दिए ।

कार्यविधिअनुसार प्रत्येक विद्यार्थीले अनिवार्य बैङ्क खाता खोलेर दैनिक बचत गर्नुपर्ने र त्यसमा नगरपालिकाले साझेदारी गरिदिने भएको छ । 

विद्यार्थीलाई बचत गर्ने बानी विकास गर्न यस्तो कार्यक्रम ल्याइएको उनले बतास्ए । कार्यक्रममा कक्षा एकदेखि ६ कक्षासम्मका विद्यार्थी सहभागी हुन पाउनेछन्  । नगरपालिकाले  सामुदायिक विद्यालयका विद्यार्थीका लागि राष्ट्रिय वाणिज्य बैङ्क र संस्थागत विद्यालयका विद्यार्थिका लागि हिमालयन बैङ्क लिमिटेडसँग सम्झौता गरेर काम अगाडि बढाएको छ ।

‘हामीले दुईवटा बैङ्कसँग सम्झौता गरेका छौँ । ती बैङ्कले सबै विद्यार्थीको खाता शून्य ब्यालेन्समा खोलिदिनाका साथै १०० रुपैयाँ जम्मा गरिदिन्छ ।  विद्यार्थीले त्यो खातामा प्रत्येक दिन न्यूनतम ५ रुपैयाँ जम्मा गर्नुपर्छ,’ उनले भने । 

विद्यार्थीले थप रकम आफ्नो गच्छेअनुसार बचत गर्न सक्छन् । नगरपालिकाले विद्यार्थीको बचतको ब्याजमा दुई प्रतिशत रकम वार्षिक रूपमा एकमुष्ट जम्मा गरिदिने गरी कार्यविधि बनेको छ । 

कार्यक्रमअन्तर्गत नगरभित्रका सबै विद्यार्थीले बैङ्क खाता खोलिसकेका छन् । सामुदायिक विद्यालयका १ हजार ५० र संस्थागत विद्यालयका २ हजार २०० विद्यार्थीले बैङ्क खाता खोलिसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र एउटा क्याम्पस, ६३ वटा सामुदायिक विद्यालय, ३० वटा संस्थागत विद्यालय र ५५ वटा बालविकास केन्द्र छन् ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update