Odapalika - The Fourth Estate - चौथो अंग
गाउँगाउँ घुम्दै ओखलढुंगाका सिडिओ, यी पालिकाका जनताले पाउने छन् घरमै सेवा

काठमाडौँ । ओखलढुंगा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहितको टोली सार्वजनिक सेवा प्रवाहलाई जनताको घरदैलोमा नै पुर्याउन गाउँगाउँ पुगेको छ ।

इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रदान गर्नको लागि सिडिओ सहितको टोली अहिले पालिकाहरुमा गएको प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जानकारी दिए ।

‘अहिले सिडिओ सरसहितको टोली पालिकाहरुमा गइरहेको छ । इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा स्थानीयले सोही ठाउँमा पाउँछन्,’ प्रशासकीय अधिकृत गौतमले वडापालिकासँग भने ।

सिडिओ चेतराज बरालसहितको जिल्ला प्रशासन कार्यालयको टोली आज सुनकोशी गाउँपालिकामा गएको उनले बताए । सो पालिकामा टोलीले नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपी वितरण तथा सिफारिस जस्ता इलाका प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा प्रदान गर्नेछ ।

यस्तै, माघ ४ गते सो टोली ओखलढुंगाकै खिजिदेम्बा गाउँपालिका आउने कार्यक्रम तय भएको पालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए । सिडिओको टाली आउँदा नागरिकता वितरण कार्य पनि हुने भएकोले सोको लागि आवश्यक तयारी पुरा गर्न अध्यक्ष शेर्पाले स्थानीयसँग आग्रह पनि गरेका छन् ।

‘पर्सि ४ गते बिहिवार सिडिओसापको टोली खिजिदेम्बा भ्रमणमा आउने भएको छ । सोही भ्रमणको क्रममा नागरिकता वितरण गर्ने तालिका राखेका छौं । आवश्यक भएका साथीहरुले आज, भोलि र पर्सि ४ गते १० बजेभित्रमा वडाबाट सबै कागजात प्रक्रिया पुर्याइ आउनुहुन अनुरोध गरेका छौं,’ अध्यक्ष शेर्पाले भने ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update