Odapalika - The Fourth Estate - चौथो अंग
व्यावसायिक भवनले पार्किङ शुल्क लिए ?  ९८५१०५१६१० मा फोन गर्नुहोस् 

काठमाडौँ । व्यावसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल उजुरी गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारी तोकेको छ । 

शुलक लिन नपाउने स्थानमा शुल्क मागेमा तत्काल नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई फोन गर्न महानगरले भनेको छ । 

आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । उनले सेवा लिएका ठाउँबाट पार्किङ्ग शुल्क लिए तत्काल ९८५१० ५१६१० मा सम्पर्क गर्न अनुरोध गरे ।

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ । 

ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन् । 

ऐनमा बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका÷भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारी साधन पार्किङ्ग वापतको शुल्क संकलन गर्न निषेध गरिएको छ । सेवाग्राही वाहेक अन्यसँग मात्र पार्किङ्ग शुल्क लिन सकिनेछ । 

सार्वजनिक सडकहरुमा सवारी साधन पार्किङ सञ्चालन गर्न अनुमति दिइने छैन ।  ऐनले निजी भवन वा जग्गामा पार्किङ व्यवसाय सञ्चालन गर्ने व्यक्ति वा संस्थाले महानगरपालिकाबाट पूर्वअनुमति लिनु पर्ने व्यवस्था गरेको छ । 

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्गबाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ । 

न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ । 

यस क्षेत्रमा सवारी साधन पार्किङ गरेवापत २ पांग्रे्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रति घण्टा २५ रुपैयाँ कायम गरिएको छ । यसैगरी ४ पांग्रे्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ कायम गरिएको छ । 

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रकाका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ । यी क्षेत्रमा २ पांग्रे सवारी साधन पार्किङ गरेवापत प्रति घण्टा १५ रुपैयाँ, ४ पांग्रे्रेका लागि ४० रुपैयाँ र ४ पांग्रेभन्दा ठूला सवारीका लागि प्रति घण्टा १०० रुपैयाँ कायम गरिएको छ ।  

निजी क्षेत्रवाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रुपमा सञ्चालित पार्किङमा २ पांग्रे्रे सवारी साधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ । 

यस्तै ४ पांग्रे सवारी साधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ । 

पार्किङ शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य विलिङ गर्नु पर्नेछ । यसको विवरण नियमित रुपमा महानगरपालिकामा पेश गर्नु पर्नेछ ।

अपांगता भएका व्यक्तिहरुले प्रयोग गर्ने सवारी साधनहरुलाई पार्किङ शुल्क लाग्ने छैन । यस्तै आपतकालीन सेवाका सवारी साधन र महानगरपालिकाले तोकेको अन्य सवारी साधनलाई निशुल्क पार्किङको व्यवस्था गरिएको छ । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update