Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षा र मानविकी पढ्नै खोज्दैनन् भक्तपुरका विद्यार्थी 

भक्तपुर । भक्तपुर नगरपालिकाका विद्यार्थीमा शिक्षा मानविकी संकायप्रतिको मोह ह्वात्तै घटेको देखिएको छ । 

नगरपालिकाले शैक्षिक सत्र २०८०/०८१ का लागि लिएको छात्रवृत्ति छनोट परीक्षामा यी संकायमा छात्रवृत्तिका लागि परीक्षा दिने विद्यार्थी अन्य संकायको तुलनामा न्युन देखिएको छ । 

भक्तपुर नगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले गरेको व्यवस्थाबमोजिम विद्यालयले उपलब्ध गराउनुपर्ने १० प्रतिशतमध्ये ३३ प्रतिशत छात्रवृत्ति सिफारिसको लागि भक्तपुर नगरपालिकाले छनौट परीक्षा लिइसकेको छ । 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा  भएको परीक्षामा देशका विभिन्न जिल्लाबाट आवेदन दिएका कुल ७ सय ४६ मध्ये ६ सय ७४ जना परीक्षामा सहभागी भएका थिए ।

bhaktapur-exam21690777120.jpg

विज्ञान विषयमा कुल ३ सय ७० आवेदकमध्ये ३ सय ३९ जना परीक्षामा सहभागी हुँदा व्यवस्थापन विषयमा कुल ३ सय १६ आवेदकमध्ये २ सय ८३ जना सहभागी भए । 

शिक्षा विषयमा कुल १५ आवेदकमध्ये १४ जना, मानविकी विषयमा कुल १९ आवेदकमध्ये १६ जना र कानुन विषयमा कुल २६ आवेदकमध्ये २२ जना गरी जम्मा ६ सय ७४ जनासहभागी भएको ख्वप माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्यले जानकारी दिए ।

भक्तपुर नगरपालिकाले २०७५ सालदेखि नै छात्रवृत्तिको लागि आवेदन खुला गरी छनौट परीक्षा सञ्चालन गरी छात्रवृत्तिको लागि विभिन्न विद्यालयमा सिफारिस गर्दै आएको छ ।

bhaktapur-exam 11690777115.jpg

छात्रवृत्ति छनौट परीक्षाको अनुगमन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, छनौट परीक्षाका सदस्यद्वय भक्तपुर नगरपालिका–९ का वडा अध्यक्ष रविन्द्र ज्याख्व, ७ नम्बर  वडाका वडा अध्यक्ष उकेश कवां, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति विजयकुमार शर्मा र शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले गरे ।

नगरपालिका शिक्षा शाखाले गत २५ असारमा छात्रवृत्ति छनौट परीक्षाको आवेदन मागेको थियो । 
 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update