Odapalika - The Fourth Estate - चौथो अंग
अलैंची बेचेर मन्त्रीले जोडे सुन, मुख्यमन्त्रीको घट्यो जग्गा 

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसहितका ४ जना मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । 

उनीहरुले सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले अलैंची बेचेर इलामको रोङ गाउँपालिकामा ४ रोपनी हाराहारी जग्गा जोडेको, ७५ हजार बराबरको शेयर किनेको र ४ तोल सुन किनेको विवरण सार्वजनिक गरेका छन् । 

उनले घरमा भएको १० तोला सुनमध्ये ६ तोला भने श्रीमतीको दाइजो भएको विवरण पेश गरेका छन् । उनीसँग यावा अलैची खेती तथा नर्सरी र यावा बाख्रा फार्म पनि छ । 

२ वटा बैंकमा ६२ हजार रुपैयाँ जम्मा भएको र यो रकम सांसदको सेवा सुविधाको भएको विवरण पेश गरेका छन् । 

अर्का मन्त्री कमल प्रसाद जवेगुसँग एउटा दुहुनु गाई, एक हल गोरु र एउटा खसी छ । फिदिमको एउटा सहकारीबाट ४ लाख रुपैयाँ ऋण लिएका छन् भने २ वटा बैंकमा गरी एक लाख रुपैयाँ नगद भएको विवरण सार्वजनिक गरेका छन् । 

श्रीमतीले ल्याएको दाइजोको १० तोलासहित उनले १५ तोला सुन र चाँदी भएको विवरण पेश गरेका छन् । पाँचथर र झापाका विभिन्न ७ स्थानमा उले जग्गा देखाएका छन् भने ती सबै पैतृक भनेका छन् । 

अर्का मन्त्री गणेश प्रसाद उप्रेतीसँग संयुक्त रुपमा संचालनमा रहेका ३ वटा कृषि फर्म र एउटा गाईबाख्रा फर्म छ । 

२ लाख ३० हजारको आइपिओमार्फत प्राप्त शेयर देखाएका मन्त्रीसँग एउटा वाइक र एएटा स्कुटर पनि छ । १० तोला सुन र १० तोला चँदीलाई उनले पैतृक भनेका छन् भने आफु र श्रीमतीका नाममा करिव ३ लाख रुपैयाँ बैंकमा जम्मा रहेको विवरण देखाएका छन् । 

इटहरीमा ११ धुर जग्गा र बिराटनगरमा १ कट्ठा ५ धुर जग्गामा बनेको एउटा घर उनीसँग छ । 

मुख्यमन्त्री केदार कार्कीको भने विगतमा भन्दा सम्पत्ति घटेको देखिएको छ । 

मोरङको बुढीगंगा गाउँपालिका–२ का कार्कीले यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा विराटनगरको मुख्य बजारमा ७ ठाउँमा जग्गा रहेको विवरण पेश गरेका थिए । मुख्यमन्त्री भएपछि भने विराटनगरको ३ स्थानमा मात्रै जग्गा भएको विवरण पेश गरेका छन् ।

२०७८ सालमा मन्त्री हुँदा कार्कीले बुझाएको सम्पत्ति विवरणमा विराटनगर मा ४१०, ४५०, ४०१ वर्गमिटरका घडेरी र १० कट्ठा जग्गा भएको उल्लेख थियो । ती जग्गा अहिले उनले देखाएका छैनन् । 

मुख्यमन्त्री कार्कीको घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा छ । कार्कीले पत्नी शान्तादेवीको नाममा बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको र यो घर  उक्त घरजग्गा पैत्रिक सम्पत्ति बेचबिखन तथा श्रीमतीको जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन् । कार्कीले १ करोड ८ लाख २ हजार ऋण देखाएका छन्, जसमा ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update