Odapalika - The Fourth Estate - चौथो अंग
इटहरी उपमहानगरपालिकाले बनायो विद्युतबाट चल्ने मोटरसाइकल

काठमाडौँ । इटहरी उपमहानगरपालिका इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गर्ने पहिलो स्थानीय तह बनेको छ । 

सरकारले डिजेल तथा पेट्रोलबाट सञ्चालित सवारीसाधनलाई विद्युतीयमा रुपान्तरणको अनुमति दिएपछि सरकारी स्तरबाट हालसम्म कुनै निकायले पनि रुपान्तरण गर्न सकेका थिएनन् ।

हाल विभिन्न निजी लगानीमा सञ्चालित सवारी उद्योगहरुले डिजेल तथा पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीयमा रुपान्तरण गर्दै आएका छन् । 

तर इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने २ वटा मोटरसाइकललाई  विद्युतीय सवारीमा रुपान्तरण गरी पहिलो सरकारी निकाय बनेको छ । 

मेयर हेमकर्ण पौडेलले केही समय अघि मात्रै २ वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण गरिएको बताए । पालिकाले स्थानीय निजी कम्पनी सन्याती इलेक्ट्री ह्वील्ससँग सम्झौता गरेर सुरुवाती चरणमा २ वटा बाइललाई विद्युतीयमा परिणत गरेको उनको भनाइ छ । 

‘हामीले नवप्रवद्र्धनमा लगानी गर्ने नीति अनुसार उपयोगमा आउन नसक्ने तथा २० वर्ष पुराना सवारी साधनलाई विद्युतीयमा रुपान्तरण गरी पुनः उपयोगमा ल्याउन लागेका हौँ, सुरुवात २ पाँग्रे बाइकबाट भएपनि विस्तारै यसलाई विस्तार गरेर ४ पाँग्रेसम्म बनाउने हाम्रो योजना छ’, उनले भने । 

मेयर पौडेलले ९ लाख रुपैयाँको लगानीमा उक्त कामको सुरुवात गरिएको बताए । उनले सन्याती इलेक्ट्रीक ह्वील्ससँग २ वटा बाइकलाई विद्युतीयमा परिणतसँगै ४ पाँग्रे सवारीमा समेत परिवर्तनका गर्न थप अध्ययन गर्न उक्त रकम विनियोजन गरिएको बताए ।

‘हामीले अहिले २ वटा बाइकलाई विद्युतीयमा रुपान्तरण गरेर कामको सुरुवात गरेका हौँ, विस्तारै चार पाँग्रे विद्युतीय सवारीलाई विद्युतीयमा रुपान्तरणमा हामी लाग्नेछौँ, हामीले सम्झौता गरेको कम्पनीले यो नै पहिलो काम गरेको हो’, उनले भने, ‘हाम्रो योजना अनुसार २ पांग्रेमा गरिएको परीक्षण राम्रो भएको छ, अब छिट्टै ४ पाँग्रेमा पनि परीक्षण गछौँ ।’

उनले हाल विद्युतीयमा रुपान्तरण गरिएको उक्त बाइक उपमहानगरपालिकाले कार्यालय प्रयोजनका लागि प्रयोग गर्ने जानकारी दिए । 

उक्त बाइकमा जडान गरिएको मोटरको क्षमता १ सय किलोमिटर रहेको जनाइएको छ । एक पटकको फूल चार्जरमा बाइकले १०० किलोमिटरसम्म यात्रा गर्न सकिने त्रितालले जानकारी दिए । बाइकमा फूल चार्ज गर्न भने ३ देखि ४ घण्टासम्म लाग्ने उनको भनाइ छ । 

विद्युतीय साधनको माग बढ्दो

सरकारले डिजेल तथा पेट्रोलबाट चल्ने सवारी साधनलाई विजुली (विद्युतीय सवारी साधन) बाट चल्न अनुमति दिएसँगै निजी क्षेत्रका धेरै कम्पनीहरुले रुपान्तरणको काम गर्दै आएका छन् । 

सरकारको अनुमति तथा उपभोक्तामा रोजाइमा विद्युतीय सवारी साधन बढेपछि यस्ता कम्पनीहरु समेत बढ्न थालेका हुन् । 

यसअघि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात गर्ने ठूला घरानाका अटो व्यवसायीहरुको पनि ध्यान पछिल्लो समय विद्युतीय सवारीमा गएको छ । केहीले विद्युतीय सवारी नेपालमा नै उत्पादन गर्ने गरी एसेम्बल उद्योग समेत दर्ता गरेका छन् ।

हाल निजी क्षेत्रको लगानीमा सञ्चालित सुन्दर अटो इञ्जिनियरिङले पेट्रोलबाट सञ्चालित पुराना स्कुटर तथा बाइकलाई विद्युतीयमा रुपान्तरण गर्दै आएको छ । उक्त काम सँगै कम्पनीले नेपालमा नै नयाँ विद्युतीय बाइकको समेत एसेम्बलिङ गर्दै आएको छ । 

यस्तै, यात्री डिजाइन स्टुडियोे (यात्री मोटरसाइकल) ले पहिलो पटक नेपालमा बाइक एसेम्बलिङ गरेको हो । अन्य कम्पनीहरुले भारत लगायतका देशबाट पास्र्टहरु आयात गरेर एसेम्बलिङ गर्दै आएकोमा यात्रीले स्वदेशमा नै आवश्यक पास्र्टहरु उत्पादन गरेर उत्पादन सुरु गरेको हो । नेपालमा उत्पादन भएको २ पांग्रे सवारीसाधनमध्ये यात्री नै पहिलो हो । 
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update