काठमाडौँ । दैनिक उपभोग्य वस्तु र रासायनिक मलको विक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ अब भने निजी भवन निर्माणमा प्रवेश गरेको छ ।
भूकम्प उच्च जोखिममा रहेको नेपालमा भौगोलिक अवस्था सुधाउँदो र जोखिम कम हुने घर निर्माणको प्रविधिसहितको नयाँ कम्पनी स्थापना गरी साल्ट ट्रेडिङले नयाँ व्यवसायमा हात हालेको हो । नेपालका दुर दराजका बस्तीहरुसम्म निर्माण सामग्री सहजै पुर्याउन सक्ने गरी नयाँ व्यवसाय सुरु गरिएको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले जानकारी दिए ।
‘नेपाल भूकम्पीय उच्च जोखिममा रहेको देश हो । र, भौगोलिक रुपमा निर्माण सामग्री ओसार पसारको लागि पनि उत्तिकै खर्चिलो हुन्छ । यस्ता समस्या समाधान गरेर उचित मूल्यमा उपयुक्त घर तथा भवन निर्माणको लागि साल्ट ट्रेडिङले नयाँ कम्पनी फ्यूचर वर्कस विल्डिङ सोलुसन प्रालि स्थापना गरेर काम गरिरहेको छ,’ विभागीय प्रबन्धक झाले वडापालिकासँग भने ।
सो कम्पनीको मूल ध्येय हलुका र भूकम्प प्रतिरोधी भवन निर्माण रहेको छ । यसको लागि कम्पनीले अमेरिकी कम्पनी फिनाकलसँग व्यवसायिक साझेदारी पनि गरेको छ । अत्याधुनिक भवन निर्माणको अनुभव भएको अमेरिकी कम्पनी फिनाकलसँगको साझेदारीले नयाँ भवन निर्माणमा सहयोग पुगेको झाले बताए ।
आरसिसी घरः किन हुन्छ भूकम्पको जोखिममा ?
इन्जिनियरहरुका अनुसार आरसिसी बनाउनको लागि आवश्यक पर्ने निर्माण सामग्री नै सो घरलाई भूकम्पीय जोखिममा पार्ने प्रमुख तत्व हो । आरसिसी घर निर्माणमा प्रयोग हुने सिमेन्ट, बालुवा, इटा, गिटी जस्ता निर्माण सामग्रीको तौलका कारण आरसिसी घर जोखिमयुक्त हुने विज्ञको भनाइ छ ।
‘हामीले बनाउने घरको निर्माण सामग्री निकै नै हलुका र अत्याधुनिक प्रविधियुक्त हुन्छ, त्यसैले भूकम्प प्रतिरोधी र ओसारपसार गर्न सजिलो हुन्छ,’ विभागीय प्रबन्धक झा भन्छन् ।
एक तले आरसिसी भवन बनाउन करिब ६० टन इटा, ३० टन सिमेन्ट, ८० टन बालुवा र करिब २० टन गिटी लाग्छ । यी निर्माण सामग्री घरको पर्खालमा प्रयोग हुने र भूकम्पको बेलामा पर्खालले सुरक्षाको साटो जोखिम मात्रै बढाउने भएकोले पनि यस्ता घरको विकल्प खोज्न विज्ञले सुझाउने गरेका छन् ।
कस्ता घर बनाउँछ फ्यूचर वर्कस विल्डिङ सोलुसनले ?
यो कम्पनीसँग अमेरिकाको फिनाकल कम्पनी पनि जोडिएको छ । अर्थात अमेरिकाको सो कम्पनीको पनि सेयर छ फ्यूचर वर्कस विल्डिङ सोलुसनमा । त्यसैले विश्वमा प्रयोग भएको अत्याधुनिक प्रविधिको प्रयोग हुने झा बताउँछन् ।
कम्पनीले बनाउने भवनमा डिपिसीभन्दा माथि पानीको प्रयोग करिब हुदैन । फाउन्डेसन बनिसकेपछि त्यसमा बोल्ट निकालेर स्टील स्टक्चर र बोर्ड प्रयोग गरेर घर बनाउने प्रविधि हो यो । भारतको देहरादुनमा बनेका अग्लाअग्ला भवनहरु यही प्रविधिमा बनेका बताइन्छ ।
नेपालमा बनेका छन् ?
कम्पनी आफैले काठमाडौँको दहचोकमा यही प्रविधिको प्रयोग गरेर १० वटा आवाशीय घर बनाइसकेको छ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा आवाशीय घरहरु यही प्रविधिमा बनेका झा बताउँछन् ।
देशका जुनसुकै भागमा गएर पनि बनाउन सकिने भएकोले यो प्रविधिलाई राज्यले पनि प्रोत्साहन गर्नुपर्ने देखिएको उनको भनाइ छ । सामान्यत एक ट्रकमा ३ वटा घरको निर्माण सामग्री बोकेर हिड्न सकिने उनले जानकारी दिए ।
यस्ता छन् दर्जन फाइदा
यो प्रविधिको प्रयोग गरेर फ्यूचर वर्कस विल्डिङ सोलुसनलाई घर बनाउँदा दिदा कम्तिमा पनि १ दर्जन फाइदा हुने कम्पनीको दाबी छ । कम्पनीले ती फाइदाहरुलाई यसरी उल्लेख गरेको छ ।
२० प्रतिशत ठूला कोठा
यो प्रविधिको एउटा प्रमुख फाइदा घर बनाउनको लागि निर्माण सामग्री राख्ने ठाउँको समस्या नहुनु पनि हो । आरसिसी प्रविधिको घर बनाउनको लागि चाहिने सिमेन्ट, बालुवा, इटा जस्ता निर्माण सामग्री राख्न धेरै फराकिलो ठाउँ चाहिने भएपनि यो प्रविधिको घर बनाउन त्यस्तो धेरै ठाउँ चाहिदैन । यस्तै, यो प्रविधिको घर बनाउँदा कोठा पनि फराकिला हुन्छन् । किनभने आरसिसी घर बनाउँदा कम्तिमा ९ इन्चको पर्खाल लगाइन्छ । तर, यो प्रविधिको घरको पर्खाल ६ इन्चको मात्रै हुन्छ । सोही कारण कोठा पनि फराकिला हुन्छन् । एउटै क्षेत्रफलको जग्गामा आरसिसी घर बनाउँदा भन्दा कम्तिमा पनि २० प्रतिशत स्पेस बचत हुने कम्पनीको दाबी छ ।
चाढो, कम खर्चिलो
यो प्रविधिको अर्काे फाइदा भनेको घर चाढै बनाउन सकिने र खर्च कम लाग्ने हो । साढे २ तले आवाशीय घर ४५ दिनभित्रमा बनिसक्ने झा बताउँछन् । यस्तै, आरसिसी घरको तुलनामा यसको खर्च पनि कम हुने उनको भनाइ छ ।
बोकेर सार्न सकिने
यो प्रविधिको अर्काे राम्रो पक्ष भनेको एक ठाउँको घर बोकेर अर्काे ठाउँमा सार्न सकिने हो । डिपिसीभन्दा माथिको भाग लाइट गेज स्टिल (एनजिएस) र बोर्डबाट बन्ने भएकोले कुनै ठाउँमा बनेको घर फुकलफाकल पारेर अर्काे ठाउँमा सार्न पनि सकिन्छ ।
तापक्रम मिलाउन मिल्ने
यो प्रविधिबाट घर बनाउँदा कोठाभित्रको तापक्रम मिलाउन मिल्ने कम्पनीले जानकारी दिएको छ । यस्तो साउन्ड प्रुफ पनि बनाउन सकिने कम्पनीको भनाइ छ ।
आगलागी जोखिम कम
उनजिएस प्रविधिका निर्माण सामग्री प्रयोग गरेर घर बनाउँदा आगलागीको जोखिम कम हुने बताइएको छ । यसमा प्रयोग भएका सामग्रीहरु अन्य प्रविधिका सामग्रीको तुलनामा आगलागीको जोखिम कम हुने कम्पनीको भनाइ छ ।
जस्तो नक्सा त्यस्तै घर
आरसिसी प्रविधिको घर बनाउँदा नक्सा जस्तो छ, ठ्याक्कै त्यस्तै घर नबन्न सक्छ । तर, यो प्रविधिमा भने स्टिलका फ्रेम प्रयोग हुने भएकोले जस्तो नक्सा छ त्यस्तै घर बनाउन सहज हुने कम्पनीको भनाइ छ । यस्तै, यो प्रविधिको प्रयोग गरेर बनाइने घरको डिजाइनमा पनि धेरै सुविधा भएको र विभिन्न प्रकारका डिजाइन निकालेर घर बनाउन सकिने कम्पनीले जानकारी दिएको छ ।
५ जनाले बनाउँछन् ३ सातामै एउटा घर
साढे २ तलाको आरसिसी प्रविधिको घर बनाउन १० जनाले काम गरे भने ८ देखि ९ महिनासम्म समय लाग्छ । तर, त्यसको तुलनामा यो प्रविधिको घर बनाउन एकदमै छिटो हुने कम्पनीले जानकारी दिएको छ । विभागीय प्रबन्धक झाका अनुसार ५ जनाको टिमले साढे २ तले घर बढीमा ३ साताभित्रमा बनाइसक्ने बताए ।
दामी निर्माण
यो प्रविधिबाट घर बनाउनको लागि प्रविधि र मेसिनी उपकरणको प्रयोग अधिक हुन्छ । सोही कारण घरका कुनाकाप्चाहरु मिलेको हुने निर्माण सामग्री खेर जाने सम्भावना कम हुने जस्ता फाइदा हुनाले दामी निर्माण हुने कम्पनीले जानकारी दिएको छ ।
व्यवस्थापन सहज
यो प्रविधिको अर्काे महत्वपूर्ण फाइदा भनेको निर्माण परियोजना व्यवस्थापनमा सहजता नै हो । यसमा इटा, बालुवा, गिटी, सिमेन्ट जस्ता निर्माण सामग्री धेरै नचाहिने भएकोले निर्माण सामग्री व्यवस्थापनको समस्या हुँदैन । यस्तै, पूर्वनिर्धारित नक्सा बमोजिमको घर ठ्याक्कै बन्ने भएकोले पनि निर्माण परियोजना व्यवस्थापनमा सहजता हुने कम्पनीले जानकारी दिएको छ ।
फोहोर कम
यो प्रविधिको अर्काे सकारात्मक पक्ष भनेको फोहोर कम हुनु हो । निर्माणका क्रममा निर्माण सामग्री खेर जाने मात्रा कम हुने भएकोले फोहोर कम हुने गर्छ । यस्तै, निर्माणका लागि धेरै परिमाणमा स्टिल प्रयोग हुन्छ । स्टिल सबैभन्दा बढी पुन प्रयोग हुने बस्तु पनि भएकोले यो प्रविधिको घर बनाउँदा फोहोर कम निस्कन्छ ।
भूकम्प प्रतिरोधी
यो प्रविधिको सबैभन्दा ठूलो महत्व भनेको नै भूकम्प प्रतिरोधी हो । यसमा प्रयोग हुने निर्माण सामग्री हलुगा र बढी लचकदार भएकोले भूकम्पीय जोखिम कम हुने विज्ञले बताएका छन् ।
कस्तो हुन्छन् घर ?
यो प्रविधिमा डिपिसीसम्म पुरानौ प्रविधिबाट बनाइन्छ । त्यसपछि नटबोल्ट राखेर लाइट गेज स्टिल (एलजिएस) का फ्रेम राखेर घर बनाउने हो । स्टिलका सो फ्रेमभित्र विभिन्न प्रकारका बोर्ड राखेर पर्खाल बनाइन्छ ।
छानोमा अहिलेका नयाँ प्रविधियुक्त सामग्री राख्न वा ढलान पनि गर्न मिल्ने झा बताउँछन् । झ्याल र ढोका युपिभिसी वा काठका पनि राख्न सकिन्छ । आरसिसी घर बनाउँदा जसरी तलाको ढलान गर्न सकिन्छ, यो प्रविधिको घर पनि त्यसरी नै ढलान गर्दा पनि हुने र बोर्ड राख्न पनि सकिने बताइएको छ ।
स्थानीय तहले के गर्न सक्छन् ?
स्थानीय सरकार आफैमा अधिकार सम्पन्न सरकार हो । आफ्नो भौगोलिक क्षेत्रभित्रका जनताको सुखदुखको साथी पनि स्थानीय सरकार नै हो ।
कुनै पनि नागरिकले घर बनाउनको लागि अनिवार्य रुपमा नक्सा पास गराउनु पर्छ । यसबाहेक हरेक कार्यका लागि स्थानीय सरकारसँग समन्वय भएको हुनुपर्छ । त्यसैले स्थानीय सरकारलाई जनताले देख्ने र भेट्ने सरकार पनि भनिन्छ ।
स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र भूकम्पीय जोखिम कम भएका प्रविधि प्रयोग गरेर घर बनाउन प्रोत्साहन गर्न सक्छन् । त्यसको लागि उनीहरुले आफ्नै भवन भूकम्प प्रतिरोधी प्रविधि प्रयोग गरेर तथा आम नागरिकलाई पनि सोही प्रकारको प्रविधि प्रयोग गर्न प्रोत्साहन गर्न सक्छन् । यस्तै, संघीय सरकारले पनि भूकम्पीय जोखिम कम हुने प्रविधि प्रयोग गरी घर निर्माणमा जोड दिनुपर्ने विभागीय प्रबन्धक झा बताउँछन् ।