Odapalika - The Fourth Estate - चौथो अंग
हात्ती धपाउन शिवसताक्षीबासीलाई साइरन

काठमाडौँ । जङ्गली हात्तीले गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । 

जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो । 

वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि१० थान साइरन वितरण गरिएको जानकारी दिए ।

उनले सो क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउनका लागि साइरन वितरण गरिएको बताए । ‘साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ र सतर्कता अपनाउँछन् । साइरनको आवाजले हात्ती पनि भाग्छ,’ उनले भने । 

फेउदिनका अनुसार शिवसताक्षी नगरपालिकाको उत्तर क्षेत्रको जङ्गलमा हाल १० हात्ती छन् । उनले सो क्षेत्रका बासिन्दालाई साइरनसँगै ८ थान टर्चलाइटसमेत वितरण गरेको बताए ।

२ महिनादेखि शिवसताक्षीको वडा नं १, ८, ९, १० र ११ का जङ्गलसँग जोडिएका क्षेत्रमा हात्तीले आतङ्क मच्चाउँदै आएका छन् । हालसम्म शिवसताक्षीमा मात्र जङ्गली हात्तीको आक्रणबाट २ वर्षमा ३ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update