Odapalika - The Fourth Estate - चौथो अंग
रोशी गाउँपालिकाको भिमखोरबासीले बल्ल पाउँदैछन् बिजुली 

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीका ३६९ घरधुरीमा बल्ल राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । 

प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गरे । 

प्रसारण लाइनको शुभारम्भ गरेसँगै वडा नं ११ का छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ र अमलबासका गरी ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ । 

विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताए । पालिकाका नागरिकलाई आवश्यक सेवासुविधा प्रदान गर्नका लागि स्थानीय सरकारले प्रयत्न गरेको बताउँदै उनले स्थानीय तहबाट गर्नुपर्ने काममा आवश्यक सुझाव दिन आग्रह समेत गरे । 

राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि वडा कार्यालयमा सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह गर्दै आएको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए । 

यसअघि साउनमा सो वडाका तल्लो भेग कालढुङ्गाका १३५ घरधुरीमा प्रसारण लाइन जोडिएको थियो । करिब १ हजार घरधुरी रहेको वडामा बाँकी रहेका घरमा छिट्टै लाइन जडान गरिने गाउँपालिका अध्यक्ष लामाले बताए ।

अन्य घरधुरीमा सामुदायिक विद्युतीकरणमार्फत विद्युत् जडान गरिएको उहाँले जानकारी दिए । उनका अनुसार विभिन्न चरणमा गरेर हालसम्म यहाँका ६१२ घरधुरीका नागरिकले सुविधा पाएका छन् । 

वडाका स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्करुपमा विद्युत् मिटर बक्स वितरण गरेको छ । त्यसका लागि गाउँपालिकाले ६ लाख रुपैयाँ दिएको वडाध्यक्ष पाख्रिनले जानकारी दिए ।

राष्ट्रिय प्रसारण शाखा लाइन विस्तारका लागि ३ करोड रुपैयाँमा ठेक्का सम्झौता भएर काम सम्पन्न भएपछि यहाँका नागरिकले विद्युत उपभोग गर्न पाएका हुन् । 

३० किलोमिटर एबिसी केबुल, ७४० वटा स्टिल खम्बा, ४ वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्य थप गरी शाखा लाइन विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण बनेपा शाखाका प्रमुख अमृत अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update