Odapalika - The Fourth Estate - चौथो अंग
आवधिक योजना बनाउन बिज्ञसँगको छलफलमा ललितपुर महानगरपालिका 

 

ललितपुर । ललितपुर महानगरपालिका आवधिक योजना निर्माणमा जुटेको छ । 

आवधिक योजना तर्जुमा निर्देशक समितिको शुक्रबार बसेको बैठकपछि महानगर प्रमुख चिरीबाबु महर्जनले दिगो विकास लक्ष्य २०३० र अन्य राष्ट्रिय योजना, लक्ष्यहरुलाई पुरा गर्न महानगर आवधिक योजना तर्जुमा गर्न जुटेको बताए । आवधिक योजना अनुसार अघि बढ्दा योजनामा दोहोरोपन नहुने उनको भनाइ छ । 

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले कुन क्षेत्रमा कसरी अघि बढ्ने भन्ने विषयलाई आवधिक योजनाले दिशा निर्देश गर्ने बताइन् । 

उनले आवश्यकताको आधारमा योजना तर्जुमा गर्नु अत्यावश्यक भएको बताइन् । आवधिक योजनाका लागि सूचना र तथ्यांक अत्यावश्यक भएको स्वीकार गर्दै भनिन्, ‘आवश्यकताको आधारमा योजना बनाउने हो, खल्तीबाट झिकेर योजना बनाउनु हुँदैन ।’

ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले यो वार्षिक बजेट बनाए जस्तो नभएको बताउँदै आवधिक योजनाले महानगरलाई काम गर्न दिशानिर्देश गर्ने स्पष्ट पारे । ‘यस्ता योजनाले जनतालाई अनुभूति हुने गरी काम गर्न मद्दत गर्छ, यो विकासको मेरुदण्ड हो,’ उनले भने । 

नेपाल सरकारका पूर्व सहसचिव विष्णुदत्त गौतमले विकासको प्रक्रियालाई आवधिक योजनाले निर्देश गर्ने बताए । आवधिक योजना भनेको समय अवधि तोकेर तय गरिने योजना भएको बताउँदै उनले आवधिक योजनालाई पाँच वर्षे योजना हो भन्दै गरिएको व्याख्या र बुझाई गलत भएको बताए । 

ललितपुर महानगरले बनाउने आवधिक योजनाले तोकिएकोे समयसिमाभित्र महानगरले कस्तो बन्छ भन्ने कुरा बताउने दाबी गरे । विकासको योजना बनाउँदा सूचनाको भूमिका महत्वपूर्ण हुने बताउँदै उनले भने, ‘सूचनाकै आधारमा योजनाको खाका बन्ने हो, त्यसकारण महानगरसँग प्रत्येक विषयको सूचना हुनु आवश्यक छ । ’

राष्ट्रिय योजना आयोगका उपसचिव दिवाकर लुइँटेलले लक्ष्य विनाको विकासले परिणाम दिन नसक्ने बताए । परिणाममुखी विकासका लागि आवधिक योजना बनाएर अघि बढ्नुपर्ने धारणा राखे । आवश्यकताको पहिचान र सूचना आवधिक योजना तर्जूमाको अत्यावश्यक तत्व भएको बताए । आयातित विकासलाई भन्दा मौलिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए । 

शुसासन समितिका संयोजक एवम ललितपुर महानगर वडा नम्बर ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनले सूचना प्राप्त गर्ने महत्वपूर्ण आधार महानगरको प्रोफाइल हालसम्म नभएको बताए । उनले भने, ‘हामीसँग सूचनाको अभाव छ, महानगरभित्र कतिवटा रेष्टुँरा छन्, व्यवसाय छन् भन्ने प्रश्नमा हामीसँग उत्तर छैन ।’

आर्थिक समिति संयोजक तथा वडा नम्बर २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले मौलिक विकासमा महानगर पछाडि रहेको बताए । उनले मौलिक विकासको आधार तयार गर्नुपर्ने धारणा राखे । कार्यक्रमा अन्य समितिका संयोजक, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु उपस्थित थिए ।
 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update