Odapalika - The Fourth Estate - चौथो अंग
संघीय सरकारले माग्यो विशेष र समपुरक अनुदान प्रस्ताव, यस्तो छ पाइने रकम र योजना

काठमाडौँ । राष्ट्रिय योजना आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय तहहरुलाई संघीय समपुरक र विशेष अनुदानका कार्यक्रम प्रस्ताव पेश गर्न आह्वान गरेको छ । 

संघीय सरकारले प्रदेश सरकारले संचालन गर्ने आयोजना र कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत र स्थानीय तहको हकमा सम्वन्धित स्थानीय तहबाटै पेश गर्नुपर्ने भनेको छ । 

यस्ता आयोजनाहरु प्रदेश सरकार र स्थानीय तहले अनलाईनमार्फत पेश गर्न सक्नेछन् । 

यी हुन समपुरक अनुदानका क्षेत्रहरु 

संघीय सरकारले  समपुरक अनुदानका लागि निम्न क्षेत्रका आयोजना र कार्यक्रममा रकम माग्न सकिने भनेको छ । 

  • कृषि तथा पशुपालन पूर्वाधार
  • खानेपानी पूर्वाधार
  • आवास तथा बस्ती पूर्वाधार 
  • बन, वातावरण, जलाधार, सिंचाइ तथा नदी नियन्त्रण पूर्वाधार
  • फोहोरमैला व्यवस्थापन पूर्वाधार
  • शैक्षिक पूर्वाधार
  • पर्यटन पूर्वाधार
  • सडक तथा पुल पूर्वाधार
  • उर्जा पूर्वाधार
  • स्वास्थ्य पूर्वाधार
  • वडा कार्यालय पूर्वाधार
  • पुनर्निमाण पूर्वाधार

संघीय सरकारले विशेष अनुदान पाउनका लागि निम्न क्षेत्रका आयोजना र कार्यक्रममा रकम माग गर्न सकिने जनाएको छ । 

  • शैक्षिक विकाश
  • आधारभूत स्वास्थ्य 
  • खानेपानी आपूर्ति
  • सामाजिक न्याय तथा समावेशीकरण 
  • तहगत सन्तुलन
  • खाद्य सुरक्षा
  • फोहोरमैला व्यवस्थापन
  • विपत जोखिम न्यूनिकरण 
  • आयोगले तोकेका अन्य प्राथमिकताका क्षेत्र

कसरी पेश गर्ने प्रस्ताव ?  

समपूरक अनुदानमार्फत सम्पन्न गर्ने योजना र कार्यक्रमका लागि बजेट माग्दा प्रदेश र स्थानीय तहले अधुरा रहेका वा क्रमागत आयोजनाहरु आन्तरिक श्रोतबाट सम्पन्न गर्ने प्रतिवद्धतासहित सोको स्पष्ट आधार पेश गर्नुपर्ने भनेको छ । 

प्रदेश सरकारहरुले क्रमागतसहितका १५ वटा र स्थानीय तहले अधिकतम ५ वटासम्म आयोजनाका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । 

यसरी प्रस्ताव पेश गर्दा विस्तृत परियोजना प्रतिवेदनदेखि इन्जिनियरिङ डिजाइनसहितको प्रतिवेदन पेश गर्नुपर्ने नियम बनाइएको छ । 

आयोजनाका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन वा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसमेत पेश गर्नुपर्ने छ । 

कति पाइन्छ पैसा ? 

समपुरक र विशेष अनुदानका लागि प्रदेश या स्थानीय तहले ५० प्रतिशत लागत साझेदारी गर्नुपर्ने छ भने अधिकतम ३ वर्षभित्रमा सम्पन्न हुने आयोजना पठाउनुपर्नेछ । 

समपुरक अनुदानका लागि प्रदेश सरकारले अधिकतम १ अर्ब, महानगर र उपमहानगरपालिकाले २५ करोड, नगरपालिका र गाउँपालिकाले १० रुपैयाँसम्मका आयोजना प्रस्ताव गर्न सक्नेछन् । 

विशेष अनुदानका लागि प्रदेश सरकारले अधिकतम ३० करोड, महानगर र उपमहानगरपालिकाले १५ करोड, गाउँपालिकाले ५ करोड र  नगरपालिकाले १० करोड रुपैयाँसम्मका आयोजना र कार्यक्रम पेश गर्न पाउने योजना आयोजले जनाएको छ । 

समपुरक र विशेष अनुदान कार्यविधि अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि संचालन गर्न खोजिएका आयोजना पेश गर्न आयोगले माघ मसान्तसम्मको समयसीमा तोकेको छ । 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update