Odapalika - The Fourth Estate - चौथो अंग
चुट्का भजन सिकाउँदै पोखरा महानगरका वडा कार्यालय 

काठमाडौँ ।  पोखरा महानगरपालिकाको वडा नम्बर ३३ ले वाडावासीलाई  भजन कीर्तन तालिम दिएकोे छ । 

स्थानीय संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा भजन कीर्तन तालिम आयोजना गरिएको वडा अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिए ।

पुरानो संस्कृतिका रूपमा रहेको भजन चुट्का लोप हुने अवस्था आएपछि संरक्षणका लागि तालिम प्रदान गरिएको उनले बताए ।

‘गाउँ गाउँमा पहिले सामूहिक भजन गाउने संस्कृति थियो, खुसीयालीका अवसरमा समेत भजन गाउने प्रचलन थियो,’ वडा अध्यक्ष अधिकारीले भने, ‘अहिले पुरानो पुस्ता कमजोर बन्दै गएपछि यो लोप हुने अवस्थामा पुग्यो, तसर्थ यसलाई पुस्ता हस्तान्तरण गर्ने र संरक्षणका लागि प्रोत्साहन गर्ने उद्देश्यले यस प्रकारको तालिम दिइएको हो ।’

उनले वडाका सबै गाउँमा भजन संस्कृतिको विकास गरिने बताए । साबिक लेखनाथ नगरपालिकाको वडा नम्बर १६, १७, १८ का विभिन्न स्थानहरूमा २० जनाको दरले टोली बनाएर प्रदान गरिएको तालिममा ६० जनाको सहभागिता थियो । 

एक हप्ते भजन कीर्तन तालिममा सहभागीलाई प्रशिक्षकहरू सन्तोष अधिकारी, रमादेवी गौतम र साकार अधिकारीले प्रशिक्षण दिए । तालिममा सहभागीहरूलाई वडा अध्यक्ष अधिकारीले प्रमाणपत्र प्रदान प्रदान गरेका छन् । 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update