Odapalika - The Fourth Estate - चौथो अंग
आन्तरिक पर्यटनको राम्रो विकल्प बन्दै पालुङ–आग्रा ट्रेकिङ

मकवानपुर । मकवानपुरको पर्यटकीय नगरी थाहामा अन्य घुमफिर जस्तै ट्रेकिङ आउने पर्यटकहरुको संख्या वृद्धि भएको छ । थाहामा १३ साउनमा मात्र स्थानीयसहित डेढसय आन्तरिक तथा बाह्यि पर्यटकहरुले ‘पालुङ–आग्रा ट्रेकिङ’ गरेका छन् ।

स्थानीयसहित हेटौंडा हाइकर्स र काठमाण्डौं हाइकिङ ग्रुपको टिमले हाइकिङ गरेको हो ।

palung-agra-trek-11690809260.jpg

थाहानगरको शिखरकोटबाट सुरु हुने यस ट्रेकिङ रुटमा धार्मिक, साँस्कृतिक, ऐतिहाँसिक तथा प्राकृतिक मनोरमताले भरिपूर्ण छ । पालिकाको वडा नम्बर ३, २ र ७ को भौगोलिक क्षेत्रमा फैलिएको करिब १४ किलोमिटरको यस यात्रामा थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको पूर्ण कदको शालिकसहित विकासको ‘कन्सेप्ट’को उदय भएको विकास घर, ऐतिहासिक गोपाली बस्ती, गोरखनाथ मन्दिर, त्रिवेणी शंखमूल, ऐतिहासिक पालुङ शहरको मौलिक संस्कृति तथा इतिहास बोकेको पाःल्वँ, पाण्डुकेश्वर मन्दिर, स्थानीय मौलिकता बोकेको डाँडाघरे बा को होमस्टे, पाथीभरा मन्दिर, पालुङगढी, भकारी ढुङ्गा, उनीउ चौर, डाँडाबास पार्क र तामाङ संस्कृति प्रमुख आकर्षण हुन् । 

palung-agra-trek-21690809291.jpg

१३ साउनमा आएका हाइकिङ टिमलाई थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, पालुङका स्थानीय, वडा नम्बर २ का जनप्रतिनिधिहरुले फुलको गुच्छा, खादा लगाई नेवारी संस्कृति झल्कने ‘सगुन’सहित पालुङ शहरको डबलीमा स्वागत गरिएको थियो ।

पर्यटकहरुलाई पालुङ शहरमा नेवारी बाजागाजासहित स्वागत गरिएको थियो । उनीहरुलाई स्थानीयले लिटिल लाखे नाच समेत प्रदर्शन गरी साँस्कृतिक मनोरञ्जन दिएका थिए । 

फाँटबजारमा पालुङका महिलाहरु पञ्जेबाजा बजाएर स्वागत गरेका थिए । स्थानीय जनप्रतिनीधिहरु सहितको सहभागितामा घुम्न आएका पर्यटकहरुलाई स्वागत गरिएको हो । 

palung-agra-trek-31690809316.jpg

मनहरी गाउँपालिकादेखि घुम्न आएका गणेश दर्पण अधिकारीले खुशी व्यक्त गरे । पदयत्राको बाटो अलि असहज बताएका उनले पर्यटकीय आकर्षणका स्थानहरुले मन हर्षित भएको प्रतिक्रिया दिए । काठमाण्डौं हाइकिङ ग्रुपबाट घुम्न आएका अर्का एक पदयात्रीले साँस्कृतिक बाजागाजासहित स्वागत र काठमाण्डौ नजिकैका डाँडाकाँडा घुम्न पाएकोमा खुशी व्यक्त गर्दै सबै सेवा सुविधा राम्रो भएको यस ठाउँमा ट्रेकिङ पारखीहरुलाई ‘पालुङ–आग्रा ट्रेकिङ’ आउन अपील गरे ।

पालुङ आग्रा ट्रेकिङमा पर्यटकहरु प्रायः विदाका दिन तथा शनिबार पर्यटकहरु आउने गरेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update