Odapalika - The Fourth Estate - चौथो अंग
बचत अभियानः विद्यार्थीको बैंक खातामा रोङ गाउँपालिकाले हाल्छ दैनिक १ रुपैयाँ 

काठमाडौँ । इलामको रोङ गाउँपालिकाले रकम अभावमा उच्च शिक्षा अध्ययनबाट बञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि विद्यार्थी लक्षित ‘एक रुपैयाँ बचत’ अभियान थालेको छ । 

अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण गाउँपालिकाका कुनै पनि बालबालिका उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट बञ्चित नहुन् भनेर यो अभियान चलाइएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले जानकारी दिए । 

‘प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले हरेक दिन १ रुपैयाँ जम्मा गरिदिन्छ र उनीहरूलाई पनि आफैँ बचत गर्न लगाइरहेको छ,’ उनले भने । 

यो कार्यक्रमका लागि दैनिक एक रुपैयाँका दरले पालिकाको वार्षिक ५ लाख ९४ हजार खर्च रुपैयाँ खर्च हुने उनको भनाइ छ । 

बालबालिकालाई दिनको न्यूनतम एक रुपैयाँ बचत गर्न लगाए पनि उनीहरूले मासिक ६ हजारसम्म बचत गरिरहेको उनले जानकारी दिए । 

‘हामीले हरेक दिन एक रुपैयाँ बचत गर्नुपर्छ भन्दा एक महिनामा ३० रुपैयाँ हुने हो । तर बालबालिकाले ६ हजारसम्म बचत गरिरहेका छन् । यो कार्यक्रमले बालबालिकामा बचत गर्ने संस्कार सिकाएको छ,’ उनले भने ।

क्षमता भएर पनि पैसा नहुँदा कैयन बालबालिकाले राम्रो विषयमा उच्च शिक्षा हासिल गर्न नसकेको अवस्थामा पालिकाको यो कदमले भविष्यमा सकारात्मक परिणाम दिने उनको बुझाइ छ । 

यो कार्यक्रमले राज्यलाई पनि फाइदा पुग्ने भएकाले देशव्यापीरूपमा सुरुआत गर्न उनले अपील पनि गरे ।  ‘तीन तहका सरकारले देशभरिका सबै बालबालिकाको खातामा एक रुपैयाँ हालिदिने र तिमीहरू पनि बचत गर भन्ने हो भने अबको ५ वर्ष पछाडि राज्यले छात्रवृत्तिको नाममा बजेट छुट्याउनै पर्दैन,’ उनी भन्छन् । 

गाउँपालिकाले केही वर्षभित्रै छात्रवृत्ति वितरण रोक्ने बताएको छ । छात्रवृत्तिको सट्टा बचत अभियानलाई नै अझ प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाको सोच छ । पालिकाले यो वर्ष २० लाख रुपैयाँको छात्रवृत्ति बाँढेको छ ।  अबको ३ वर्षपछि यो अभियान रोक्ने गाउँपलिकाको तयारी छ । 

गाउँपालिकाको ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत सञ्चालित बचत कार्यक्रमबाट पालिकाभरिका ३० वटा विद्यालयका करिब २ हजार ५०० विद्यार्थीले लाभ लिइरहेका छन् । 

प्राइम कमर्सियल बैंकले हरेक विद्यार्थीको खातामा १०० रुपैयाँ जम्मा गरिदिने सहमति भएको छ । बैंकले प्रत्येक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पालिकासँग सम्झौता गरेको बताएको छ । 

विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ शर्तमा बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमका लागि बैंकले २ लाख ५० हजारभन्दा बढी सहयोग गर्ने गाउँपालिका अध्यक्ष स्याङ्बोले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update