Odapalika - The Fourth Estate - चौथो अंग
लेखा व्यवस्थापन र बेरुजु फर्स्याेटमा काठमाडौँ महानगरको चासो 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका विभाग तथा वडा कार्यालयको लेखामा काम गर्ने कर्मचारीले विगतमा औल्याइएका बेरुजुहरुको दायित्व लिएर फर्स्याेट तथा सम्परीक्षण गराउनु पर्नेमा अधिकारीहरुले जोड दिनुभएको छ । 

विभाग र वडाको लेखामा काम गर्ने कर्मचारीहरुका लागि आन्तरिक लेखापरीक्षण एकाइले आयोजना गरेको लेखा र लेखापरीक्षण सम्बन्धी तालिमको समापनमा यस्तो धारणा राखिएको हो । 

कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक शंकर पन्थीले प्रतिवेदनले औल्याएका विषयमाथि सम्बन्धित विभाग र वडाले दफावार विवरणलाई स्पष्ट पार्दै जाने हो भने वेरुजुको अङ्क घट्न सक्ने बताए । 

‘प्रक्रिया पुगेको छ तर कागजपत्र उपलब्ध गराउन नसक्दा पनि वेरुजु हुन्छ । त्यसैले स्रेस्ता र प्रक्रियासँग सम्बन्धित प्रमाणहरु कार्य सम्पादन हुँदाकै बखत व्यवस्थित गराउँदै जानुपर्छ,’ उनले भने । 

वित्तीय सुशासनका लागि आन्तरिक कार्य दक्षता बढाउनु पर्नेमा जोड दिँदै महानगरका प्रशासन विभागका प्रमुख दिपक अधिकारीले वेरुजु शुन्य बनाउनमा सक्रियता बढाउनु पर्ने बेला आएको बताए । 

वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीले आर्थिक बर्ष २०७९/०८० को अन्तिम लेखा परीक्षणको प्रारम्भिक अवस्थाका बारेमा महालेखा परीक्षकको कार्यालयबाट वडामा पठाइएको पत्रको माघ १५ गते अगाडि नै जवाफ पठाउनु पर्ने बताए । 

‘जवाफ पठाउनु अघि पत्रले औल्याएका विषयमा वडा समितिमा छलफल गराउनुहोला । विगतका वेरुजु फस्र्योट गर्ने र चालु आर्थिक बर्षलाई वेरुजु शुन्य बनाउनु लेखाको जिम्मेवारी हो,’ उनले भने । 

आ. व. २०७९/०८० को अन्तिम लेखा परीक्षणअन्तर्गत ३१ वटा वडा, हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजनाको काम सकिएको छ । अब केन्द्रको परीक्षण थालिनेछ । महानगरपालिकाको लेखा परीक्षण टोलीको नेतृत्व गरिरहेका महालेखा परीक्षकको कार्यालयका निर्देशक महेश पौडेलले पछिल्ला बर्षहरुमा राजस्व बेरुजु धेरै देखिएको जानकारी दिए । 

‘भुक्तानी गर्दा करकट्टी नभएको, स्वीकृत दररेटभन्दा फरक दरमा खरिद गरेको, बर्षको अन्त्यमा केन्द्रमा फिर्ता गर्नु पर्ने पैसा फिर्ता नगरेको, सामान वितरण भर्पाइ तथा हस्तान्तरण फाराम नभएको, कर विजक तथापान नम्बर नभएको विलबाट भुक्तानी भएको जस्ता कारण वडाबाट वेरुजु हुने गरिएको देखिएको छ,’ उनले भने । 

वेरुजुसँग सम्बन्धित विभिन्न समस्यालाई कसरी समाधान गर्ने भनेर तालिममा ५ वटा समूहमा अभ्यास गरिएको थियो । अभ्यासका लागि बढी भुक्तानी भएको, लागत अनुमान, खरिद आदेश, जिन्सी दाखिला जस्ता कागज नभेट्टाइएको, स्रेस्ता र बैङ्क रकममा अङ्क फरक भएको, माग फाराम नदेखिएको जस्ता समस्या र त्यसबाट सिर्जना भएको वेरुजु अङ्क दिइएको थियो । त्यो अङ्कलाई कसरी फस्र्योट गर्ने, सम्परीक्षणका लागि कसरी पठाउने समूहमा अभ्यास गराइएको थियो । 

वित्तीय सुशासनका लागि पूर्व लेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी ३ चरणमा लेखा परीक्षण गरिन्छ । आव. २०७१/०७२ को नगरपरिषद् (तत्कालीन) को निर्णय अनुसार १ लाख ५० हजार रुपैयाँसम्मका भुक्तानीमा महानगरपालिकाले पूर्व लेखापरीक्षण गराउँदै आएको छ । 

आन्तरिक लेखा परीक्षणका लागि छुट्टै एकाइले काम गर्दै आएको छ । एकाइका प्रमुख घिमिरेकाअनुसार २०७४ बैशाखदेखि महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण हुँदै आएको छ । त्यसअघि अनुमति प्राप्त लेखा परीक्षकबाट अन्तिम लेखा परीक्षण हुने गरेको थियो । 

रुजु नभएको तथा हुन नसकेको आर्थिक कारोवार, रितभाँती नमिलेको वा बेरितबाट काम भएको, भिडान तथा मिलान नभएको वा हुन नसकेको खर्च वेरुजु हो । 

आर्थिक कारोवारको जाँच गर्दा लेखापरीक्षकले दर्शाएको अनियमित रकम कलम, ऐन, नियम, कार्यविधि, पक्रिया, स्थापित मूल्य मान्यता र सिद्घान्तसँग तालमेल नहुने गरी वा सो विपरीत हुने गरी भएको कारोबार बेरुजु हो । 

२० हजार रुपैयाँसम्मको भुक्तानीमा व्यक्तिगत लेखा नम्बर (पान), त्यसभन्दा माथिको अङ्कमा कारोबार गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) बिल हुनुपर्छ । ५० हजार भन्दा माथिको जुन सुकै प्रकारको भुक्तानीमा १.५ प्रतिशत स्रोतमा कर (टीडीएस) कट्टी गर्नुपर्छ । 

घिमिरका अनुसार व्यक्तिको हकमा भत्ताजस्ता अतिरिक्त सबै प्रकारका भुक्तानीमा १५ प्रतिशत स्रोतमा कर कट्टी गर्नुपर्छ । 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update