Odapalika - The Fourth Estate - चौथो अंग
६ महिनामा बैँकको नाफाः कसको वढ्यो, कसको घट्यो ? 

काठमाडौँ । २० वटा वाणिज्य बैंकमध्ये १६ बैंकको नाफा घटेको छ । बैंकहरुले आइतबार सार्वजनिक गरेको पुस मसान्तसम्मको वित्तीय अवस्थाअनुसार वाणिज्य बैंकहरुको नाफा ९.९४ प्रतिशतले घटेको हो । 

१६ वाणिज्य बैंकहरुले नाफा घट्दा हिमालयन, कृषि विकास, एभरेष्ट र प्राइम बैंकको मात्रै नाफा बढेको छ । बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय अवस्थाअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् । 

गत आर्थिक वर्षको यसै समयमा बैंकहरुले ३१ अर्ब ९४ करोड २३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका थिए । 

कुन बैंकको अवस्था कस्तो ? 

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा घाटामा रहेको कृषि विकास बैंकले यो पटक नाफा गरेको छ । गत आवको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको कृषि विकास बैंक अहिले १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ । 

हिमालयन बैंकको नाफा ५७.५३ प्रतिशले बढेर १ अर्ब ५० करोड ३९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९५ करोड ४७ लाख ४ हजार रुपैयाँ थियो । एभरेष्ट बैंकको पनि नाफा ७.८८ प्रतिशतले बढाएर १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा १ अर्ब ५८ करोड ८० लाख ३ हजार रुपैयाँ रहेको छ । 

प्राइम बैंकको नाफा ३२.१३ प्रतिशतले बढेर २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ थियो । 

सबैभन्दा धेरै नाफा नेपाल बैंकको घटेको छ । नेपाल बैंकको ४९.६० प्रतिशत घटेर ५९ करोड रुपैयाँ नाफा गरेको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १.६६ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २.१५ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नबिल बैंकको ६.२७ प्रतिशत घटेर ३ अर्ब २० करोड रुपैयाँ, सिटिजन्स बैंकको ६.५९ प्रतिशत घटेर ७८ करोड २७ लाख रुपैयाँ नाफा गरेका छन् ।

यस्तै, सानिमा बैंकको ११.४१ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.६२ प्रतिशत घटेर १ अर्ब ८० करोड रुपैयाँ, कुमारी बैंकको १४.३१ प्रतिशत घटेर ८६ करोड ७२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २१.४६ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २५.६ प्रतिशत घटेर २ अर्ब १ करोड रुपैयाँ नाफा गरेका हुन् । 

यस्तै, ग्लोबल आइएमई बैंकको २६.५६ प्रतिशत घटेर २ अर्ब ४ करोड रुपैयाँ, एनएमबि बैंकको २७.६२ प्रतिशत घटेर १ अर्ब ३७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २८.६२ प्रतिशत घटेर ८४ करोड ५ लाख रुपैयाँ, प्रभु बैंकको ३९.९६ प्रतिशत घटेर ७२ करोड ३ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ४१.८३ प्रतिशत घटेर १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका हुन् । 

१० बैंकको नाफा १ अर्ब बढी नाफा कमाएका छन् भने ६ बैंकको नाफा अर्बभन्दा कम छ । अर्बभन्दा कम नाफा कमाउनेमा कुमारी, नेपाल एसबिआई, माछापुच्छ्रे, सिटिजन्स, प्रभु र नेपाल बैंक छन् । 

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update