Odapalika - The Fourth Estate - चौथो अंग
वालिङ नगरको बोधिभञ्ज्याङका १४२ घरधुरी खानेपानीको पहुँचमा

काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिका–१३ बोधिभञ्ज्याङका १४२ घरधुरीमा धारा जडान गरिएको छ ।

यसअघि ल्याइएको खानेपानीमा समस्या आएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँमा खानेपानी लगिएको हो । बोधिभञ्ज्याङ मूल संरक्षण तथा खानेपानी आयोजनाअन्तर्गत आँधीखोलाको किनारमा रहेको मुलबाट पानी तानेर गाउँमा वितरण गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाका सबइञ्जिनियर वसन्तकुमार सुवेदीले बताए ।

आव २०७६/७७ देखि सुरु भएको उक्त योजना २ करोड १५ लाख ५६ हजार लागतमा बनेको हो । वालिङ–१३ को झलुङ्गेस्थित आँधीखोलाको किनारबाट विद्युतको प्रयोग गरी पानी तानेर वितरण गरिएको उपभोक्ता समितिका सचिव ध्रुव गौडेलले बताए ।

‘लामो दूरीबाट ल्याइएको पानीमा पटकपटक समस्या आएपछि नयाँ योजनाको खोजीमा थियौँ । आँधीखोलाको किनारमा रहेको मुल नजिकै ट्याङ्की निर्माण गरेर गाउँभन्दा माथि रहेको खरबारीमा एक लाख लिटर क्षमताको ट्याङ्कीबाट  घरघरमा वितरण गरेका छौँ,’ उनले भने । 

झलुङ्गे, बोधिभञ्ज्याङ, पीपलछापका प्रत्येक घरघरमा पाइपमार्फत पानी वितरण गरिएकोे छ । उक्त ठाउँमा रहेका विद्यालय, प्रहरी चौकी, वडा कार्यालय, समाज भवन, सार्वजनिकस्थलमा समेत धारा जडान गरिएको छ ।

प्रत्येक घरमा २४सैँ घण्टा पानी खोल्ने गरिएको छ । घरघरमै पानी सहजरुपमा आएसँगै खोल्साखोल्सी, कुवामा पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । 

टाढाबाट पानी बोकेर खानुपर्ने अवस्थाको अन्त्य भएपछि स्थानीय खुसी छन् । दैनिक पानी खोल्न, बन्द गर्न तथा मर्मतसम्भारका लागि एक जना कर्मचारी राखिएको सचिव गौडेलले बताए ।

खानेपानी आयोजनाले पानी तान्नका लागि मासिकरुपमा साढे ६ हजार रुपैयासम्म विद्युत् महसुल बुझाउँदै आएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको लिफ्ट खानेपानीमा प्रयोग हुँदै आएको विद्युतमा अनुदान दिने नीति अनुसार प्रक्रिया अघि वढेको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update