Odapalika - The Fourth Estate - चौथो अंग
सहिद सप्ताह मनाउन महानगरले बनायो समिति, यस्ता छन् साताव्यापी कार्यक्रम 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउन मेयर बालेन्द्र शाहको अध्यक्षतामा मुूल समारोह समिति गठन गरेको छ । 

१० माघदेखि सहिद सप्ताहका कार्यक्रम सुरु हुने छन् ।  सहिद सप्ताह मूल समारोह समितिले कार्यक्रम सञ्चालन गर्नेछ । कार्यक्रमका बारेमा जानकारी दिन विज्ञप्ति जारी गर्दै महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सहिदहरुको स्मृतिमा उनीको योगदानको सम्मान गर्दै आयोजना गरिने कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन् । 

नागरिक स्वतन्त्रताका लागि राजनीतिक संघर्षका क्रममा१९९७ सालमा पक्राउ परेका ४ सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दसहित विभिन्न समयका राजनीति आन्दोलनमा सहादत प्राप्त गर्ने योद्धाहरुको स्मरण तथा सम्मानमा सहिद सप्ताहका कार्यक्रम मनाउने गरिएको छ । 

शासकसामु माफी मागेर झुक्नुभन्दा प्रजातन्त्रकालागि ज्यान सजाय स्वीकार गरेका सहिदहरुको स्मृतिमा २०१२ सालदेखि महानगरको संयोजकत्वमा गठित मूल समारोह समितिले सहिद सप्ताहका कार्यक्रम आयोजना गर्दै आएको छ । 

मेयरको अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रमुख सुनिता डंगोल, वडा नम्बर १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नं ७ का अध्यक्ष बिमलकुमार होडा, वडा नं १५ का अध्यक्ष एवं वित्त समितिका संयोजक इश्वरमान डंगोल र वडा नं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारी सदस्य छन् ।  समितिको सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत छन् ।

सप्ताहको पहिलो दिन अर्थात माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु मचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफल उकालोमा र १५ गते विष्णुमती नदी किनारा शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गरेको स्थानमा स्मृति सभा हुनेछ । 

यी स्थानहरुमा महानगरपालिकाले सहिदहरुको पूर्ण कदको सालिक निर्माण गरेको छ । यस्तै माघ १६ गते शान्तिबाटिकाबाट प्रभातफेरी सुरु गरेर लैनचौर सहिद पार्कमा ज्ञात अज्ञात सहिदहरुको स्मृतिमा सभा हुने विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update