Odapalika - The Fourth Estate - चौथो अंग
यातायात मन्त्रीको एकै स्वर: ट्राफिक जरिवानाबाट उठेको राजश्व प्रदेशले पनि पाउनुपर्छ

काठमाडौँ । प्रदेशका यातायातमन्त्रीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत उठेको राजश्व (जरिवाना रकम) प्रदेश सरकारले प्रयोग गर्न पाउनुपर्ने माग राखेका छन् । 

आइतबार सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको छलफलमा उनीहरुले यस्तो माग गरेका हुन् । उनीहरुले ट्राफिक नियम उल्लंघन गरेबापत प्रदेशमा उठेको रकम प्रदेश सरकारले नै प्रयोग गर्दा प्रदेशको राजश्व बढ्ने धारणा राखेका हुन् । 

छलफलका क्रममा बोल्दै मधेस प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले ट्राफिक नियम उल्लंघन गरेको जरिबाना प्रदेश सरकारलाई नै प्रयोग गर्न दिन आग्रह गरे । उनले कोशीदेखि नारायणीसम्मको हुलाकी राजमार्गमा विद्य्ुतीय बस सेवा शुरु गर्न आवश्यक रहेको बताए ।

छलफलमा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आउने यातायातसम्बन्धी ऐनमा ट्याक्सीको सिण्डिकेट हटाउनुपर्ने बताए । उनले २० वर्षपछि लगत कट्टा गर्दा पनि उसैले चाहेको व्यक्तिले मात्रै पाउने कुराको अन्त्य हुन जरुरी रहेको धारणा राखेका थिए ।

मन्त्री जुग्जालीले पोखरामा ट्याक्सीहरु मिटरमा हिँड्न नमान्दा समस्या आइरहेको समेत बताए । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update