Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँमा यस वर्षकै सबैभन्दा धेरै चिसो, अन्यत्र यस्तो छ मौसम

काठमाडौँ । काठमाडौँमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौँमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताए ।

यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीमा झरेको हो । आज काठमाडौँ उपत्यकामा पारदर्शिता पनि घटेको छ । उनका अनुसार आज बढी चिसो अनुभव भएको छ । 

बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ । उनले परदर्शिता तीन हजार मिटर रहेको बताए । यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो । त्यसका कारण काठमाडौँमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ । लागेको घाम पनि न्यानो खालको छैन ।

तराईमा बाक्लो हुस्सु र कुहिरो 

महाशाखाले चिसो बढिरहेको बताएको छ । तराईका भूभागमा हुस्सु र कुहिरोले कुनै दिन खुल्ने कुनै दिन बेलुकासम्म नै हुस्सु कुहिरो लागिरहने गरेको पनि उनले बताए । त्यसका कारण बढी चिसो महसुस हुने गरेको छ ।  

आइतबार रेकर्ड गरिएको तथ्याङ्कअनुसार जुम्लामा माइनस पाँच दशमलव छ डिग्री, जोमसोम माइनस पाँच डिग्री र दोलखाको जिरी मा एक डिग्री तापक्रम रेकर्ड गरिएको छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । 

तराईका अधिकांश स्थानमा हुस्सु÷कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाटसमेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउ विभागले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update