Odapalika - The Fourth Estate - चौथो अंग
जनतालाई सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्यः अर्थमन्त्री डा. महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएको बताएका छन् । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेको सिम्रौनगढ छोटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले सो कुरा बताएका हुन् । 

‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ,’ उनले भने । उनले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने समेत बताए ।

‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र स्वरुप लिन्छ, विस्तार हुन्छ,’ उनले भने ।

खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्वपूर्ण रहेको मन्त्री डा. महतको भनाई थियो । 

‘बारामा अधिकांश सडक बनिसकेको छ, मरिन सुनकोशी डाइर्भसन निर्माण भएपछि बारामा सिँचाइका लागि दुःख हुँदैन । त्यसपछि बाराको कृषि उत्पादन बढ्ने, उद्योग, व्यापार र व्यवसाय बढ्छ’, उनले भने । 

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update