Odapalika - The Fourth Estate - चौथो अंग
फेदीखोला गाउँपालिकाले खोलिदियो सबै विद्यार्थीको बैँक खाता 

काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिकाले पालिकाभित्रका सबै विद्यार्थीको बैँक खाता खोलिदिएको छ । 

‘बचत गर्ने बानीको सुधार, बालबालिकाको सुनौलो भविष्यको आधार’ भन्ने नाराका साथ फेदीखोला गाउँपालिकाले प्रत्येक विद्यार्थीको खाता खोल्ने कार्यक्रमको शुभारम्भ गरेको छ । 

वडा नम्बर २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयबाट शुभारम्भ गरिएको कार्यक्रममा पहिलो दिन विद्यालयका कक्षा ९ का ५५ जना विद्यार्थीको खाता खोलिएको छ । 

fedikhola 31705982737.jpg

अब क्रमिक रुपमा कक्षा शिक्षकको सहभागितामा अन्य कक्षा र अन्य विद्यालयका विद्यार्थीहरुको खाता खोलिने शिक्षा, युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ । 

मंगलबार सिद्धार्थ माविकै कक्षा ८ का विद्यार्थीको खाता खोल्ने र कार्यसूचि अनुसार प्राइम कर्मसियल बैंकले प्रत्येक विद्यालयमा पुगेर विद्यार्थीहरुको खाता खोल्नेछ । 

कार्यक्रमको उद्घाटन गर्दै फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले अब विद्यार्थीलाई विभिन्न स्रोतबाट आउने रकम हात हातमा नभई खातामा जम्मा गरिने र गर्नुपर्ने बताए ।

‘हातमै पुग्दा उतिखेरै अनावश्यक ठाउँमा खर्चिने प्रबल सम्भावना हुने र बैंकिङ प्रणालीमा जाँदा विद्यार्थीको वित्तिय भविष्य उज्जवल हुने भएकाले यो कार्यक्रम अघि सारेका हौँ,’ अध्यक्ष सुवेदीले भने । 

गाउँपालिका, विद्यालय, संघसंस्था, अक्षयकोषदाता लगायतका विभिन्न स्रोतमार्फत आउने छात्रवृत्ति एवं सहयोग रकम खातामा जम्मा गर्दा बचत गर्ने बानीको विकास हुने उनको भनाइ छ । 

यो कार्यक्रमका कारण अभिभावकले गर्ने खर्चको केही रकम आफ्ना छोराछोरीको खातामा छुट्याइदिए भविष्यको जग बलियो हुने उनले बताए ।

fedikhola 21705982734.jpg

कार्यक्रममा बोल्दै प्राइम कर्मसियल बैंकका प्रादेशिक प्रमुख सुर्यप्रसाद तिवारीले गाउँपालिकाले गरेको नमुना कार्यक्रमले विद्यार्थीको जीवनस्तर नै परिवर्तन गरिदिने बताए । बैंकले विद्यार्थीको खातासँगै गाउँपालिकामा वित्तिय साझेदारीलाई पनि अगाडि बढाउने उनले बताए । 

सिद्धार्थ माध्यमिक विद्यालयका कार्यवाहक अध्यक्ष नेत्रनारायण गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्राइम कर्मसियल बैँक फेदीखोलाका कर्मचारी, विद्यार्थी, शिक्षक र अभिभावकहरुको उल्लेख्य सहभागिता थियो । 
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ०९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update