Odapalika - The Fourth Estate - चौथो अंग
सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जन रोक्न समझदारी

काठमाडौँ । सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

खानी तथा भूगर्भ विभाग र सिमेन्ट उत्पादक संघले भारतको टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टसँग नेपालमा चुनढुङ्गा क्याल्साइन माटोको प्रविधि प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय मुकुन्दप्रसाद निरौला र नारायणप्रसाद शर्मा दुवाडीको उपस्थितिमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापा र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टका उपाध्यक्ष सौमेन माइतेबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

चुनढुङ्गा क्याल्साइन माटोको प्रयोगमार्फत सिमेन्ट उत्पादन गर्दा कार्वन उत्सर्जनमा ४० प्रतिशत कमी आउनुका साथै कोइलाको खपतमा समेत कमी आउने खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । यो प्रविधिलाई स्वीस सरकार विकास सहयोग (एसडिसी)ले सहयोग गरेको छ । 

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले चुनढुङ्गाको प्रयोगमार्फत सिमेन्ट उत्पादन गर्दा त्यसबाट निस्कने कार्वनले वातावरणमा नराम्रो प्रभाव पारेको भन्दै त्यसलाई कमी गर्न नयाँ प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

मन्त्रालयका अर्का सचिव दुवाडीले नयाँ प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्दा मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

विभागका सिनियर जियोलोजिष्ट नारायण बाँस्कोटाले सन् २०१३ मा स्वीजरल्याण्डमा सुरु गरिएको उक्त प्रविधिलाई नेपालमा पनि  ल्याइएको बताए ।

यो प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्नसके कोइला आयातमा बर्सेनि बाहिरिने ठूलो रकमसमेत बचत हुने सरकार र व्यवसायीको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update