Odapalika - The Fourth Estate - चौथो अंग
कागजातमा नेपाल संवत् : निर्देशन दिन्छ तर आफैँ कार्यान्वयन गर्दैन संघीय सरकार 

काठमाडौँ । सरकारी कागजपत्र र पत्राचारमा अनिवार्य रुपमा नेपाल संवत् लेख्ने निर्णय गर्दै देशभरका स्थानीय तहसम्मलाई परिपत्र गरेको संघीय सरकार आफैँ यसको कार्यान्वयनमा उदासिन देखिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका काजगातमा नेपाल संवत् लेख्न अनुरोध गर्दै पत्राचार गरेको छ । 

संघीय मन्त्रिपरिषदले गत २७ कात्तिकमा विक्रम संवत् उल्लेख हुने सरकारी कागजातमा अनिवार्य नेपाल संवत् लेख्ने निर्णय गरेको थियो । 

यो निर्णयको लामो समयपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले विभिन्न मन्त्रालयमा पत्राचार गर्दै निर्णय कार्यान्वयन गर्न भनेको थियो । 

मन्त्रालयको यो पत्रलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै नेपाल संवत् अनिवार्य लेख्न भन्यो । 

सम्वन्धित समाचार 
कागजातमा नेपाल संवत् लेख्न देशभरका स्थानीय तहलाई पत्राचार, यस्तो छ संवत् लेख्ने ९ तरिका

तर निर्णय कार्यान्वयन गराउन पत्राचार गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाहेक कुनैपनि सरकारी निकायले आफ्ना पत्राचारहरुमा नेपाल संवत् उल्लेख गरेका छैनन् । 

७५३ वटै स्थानीय तहमा निर्णय कार्यान्वयन गर्न पत्राचार गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसमेत निर्णय कार्यान्वयनमा उदासिन छ । उसले स्थानीय तहलाई पत्राचार गरेयता जम्मा एकपटकको पत्राचारमा नेपाल संवत् उल्लेख गरेको छ । 

दैनिकजसो स्थानीय तहलाई पत्राचार गरिरहने यो मन्त्रालयले आज (सोमवार) पनि स्थानीय तहको नाममा एउटा पत्राचार गरेको छ । 

तर त्यसमा नेपाल संवत उल्लेख गरिएको छैन । यसअघिका सबैजसो पत्राचारमा मन्त्रालय संवत् लेख्नबाट चुकेको छ । 

सरकारले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख भएका कागजातमा नेपाल संवत् अनिवार्य गर्ने निर्णय गरेको थियो । 

यो निर्णय कार्यान्वयन गराउन भन्दै संघीय मामिलाले ‘स्थानीय सरकारहरुले गरेका पत्राचार, उनीहरुका लेटरहेडलगायतमा नेपाल संवत् उल्लेख गरेको नपाइएको भन्दै उल्लेख गर्न’ गत पुसमै पत्राचार गरेको थियो । 

मन्त्रालयको निर्देशनपछि न स्थानीय तहले संवत् लेखेका छन्, न मन्त्रालयले नै । सरकारको निर्णय लगत्तै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपाल संवत् लेख्ने विधि र तरिका सरकारलाई सिफारिस गरिसकेको छ । 

लेटरहेडमै पालिकाको नाम रञ्जना लिपिमा लेखेका काठमाडौँ र ललितपुर महानागरपालिकासहित अधिकांश नगरपालिकाले सरकारको यो निर्णय कार्यान्वयन गरेका छैनन् । 

समितिका अनुसार विक्रम संवत् उल्लेख हुने कागजातमा नेपाल संवत् लेख्दा ९ वटा तरिका अपनाउनुपर्ने छ । उसले हरेक दिन यो संवत् कसरी लेख्ने भनेर समेत सुझाइसकेको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update