Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि व्यवसायीको विरोध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको नयाँ सडक क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यवसायीले विरोध गरेका छन् ।

न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आजदेखि काठमाडौँ महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन् । 

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढङ्गले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए। “व्यापार व्यवसाय मन्दी भएको अवस्थामा पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम हुँदैछ,” उनले भने ।

काठमाडौँ महानगरपालिकाले भने आज बिहानदेखि न्युरोड आसपासमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए ।

“न्युरोड जानुपर्ने सवारी धनीलाई काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएका छौँ”, उनले भने । पुरानो बसपार्क क्षेत्रमा तीन सयवटा चारपाङ्ग्रे र सात सय दुईपाङ्ग्रे सवारी साधन अट्ने महानगरले जनाएको छ ।

पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले आज बिहानदेखि विशेष सरसफाइसमेत गरेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update