Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुन नगरपालिकाका सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, आवश्यक रकम पालिकाले नै दिने 

काठमाडौँ । नागार्जुन नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा निःशुल्क शिक्षा लागु गर्ने घोषणा गरेको छ । 

संविधानमा नै आधारभूत शिक्षा निःशुल्क भनिएपनि केही विद्यालयले भर्ना शुल्क समेत लिने गरेको गुनासो आएपछि पालिकाले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्न विद्यालयलाई निर्देशन दिएको हो । 

पालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयलाई अनुदान दिएर निःशुुल्क शिक्षा लागुु गर्न लागेको हो । ‘नागार्जुन नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सामुदायिक विद्यालयहरुलाई शैक्षिक गुणस्तर अभिवृद्दिका लागि शिक्षण सिकाइ सहयोग अनुदान उपलब्ध गराउने कार्यक्रम भएको हुँदा ‘शिक्षण सिकाइ सहयोग अनुदान व्यवस्थापन कार्यविधि, २०८०’ को दफा ४ को (क) बमोजिमको शर्त पूरा गरेको सामुदायिक विद्यालयहरुले यो सूचना प्रकाशित भएको मितिले २१ (एकाइस) दिनभित्र अनुसूचि (१) अनुसारको निवेदन तथा प्रस्तावका आधारमा संलग्न गर्नुपर्ने कागजातहरु सहित नागार्जुन नगरपालिकाको शिक्षा शाखामा सम्पर्क गर्नुहुन अनुुरोध छ’, पालिकाले सार्वजनिक गरेको सूचनामा भनिएको छ । 

नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी आगामी शैक्षिक सत्रदेखि पालिकाभित्र सञ्चालित सामुुदायिक विद्यालयले कुनै पनि शुल्क लिन नपाउने बताउँछन् । 

‘अहिले केही विद्यालयले विद्यार्थीबाट भर्ना शुुल्क लगायतका नाममा थप शुल्क लिदैँ आएका रहेछन्, अब नयाँ शैक्षिक शत्रबाट कुनैपनि नाममा शुुल्क उठाउन पाइनेछैन’, उनले भने, ‘विद्यालयले गर्ने अतिरिक्त क्रियाकलाप लगायतका लागि पालिकाले अनुदान दिन्छ, हामीले जारी गरेको सूचना अनुसार विद्यालय आवद्ध हुनुपर्छ ।’
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update