Odapalika - The Fourth Estate - चौथो अंग
भाइले २३ जनाबाट ऋण लिएको भेटेपछि वडाअध्यक्ष दाजुले गरेनन् तमसुक दर्ता, साहुले गरे वडामा तालाबन्दी

काठमाडौँ । वडाअध्यक्षले तमसुक दर्ता नगरेको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर २ का वडाअध्यक्षले तमसुक दर्ता नगरेको भन्दै स्थानीयले वडामा तालाबन्दी गरेका हुन् । 

बुधबार वडामा स्थानीय जगदीश यादवले २३ जनाबाट ऋण लिएको भन्दै साहुुले कपाली तमसुक दर्ता गर्न आग्रह गरेका थिए । तर वडाअध्यक्षले आफ्नै भाइले ऋण लिएको दर्ता नगरेपछि स्थानीयले वडामा तालाबन्दी गरेका हुन् ।

साहु र ऋणीबीचको तमसुक वडा कार्यालयबाट प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भएपछि हिजोआज मधेशका धेरै जिल्लाका वडा कार्यालयमा भिड बढेको छ । वडामा तालाबन्दी गरेका स्थानीयले बुधबार दिउँसो जलेश्वर बर्दिबास सडक खण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

औरही नगरपालिका प्रमुख प्रदीप कुमार खड््काले २ नम्बर वडामा स्थानीयले तालाबन्दी गरेको खबर आफूलाई भरखर आएको जानकारी दिए । 

उनले वडाअध्यक्षले प्रमाण नपुुगेको तमसुक दर्ता गर्न नमानेपछि स्थानीयहरु आन्दोलीत भएको जानकारी पाएको बताए । 

‘सरकारले हामीलाई २०७५ भदौमा तमसुक दर्ताको अधिकार दियो, अहिले वडाले २०७५ भन्दा अगाडीको सबै दर्ता गरेको छ, उनले भने, ‘अहिले २०७६/०७७ सालमा लिएको ऋणको तमसुक दर्ता गर्न वडामा स्थानीयहरु आउनुभएको रहेछ, वडाअध्यक्षले यसअघिका जनप्रतिनिधिले गर्नुपर्ने काम आफूले नगर्ने भनेपछि विवाद भएको हो ।’

उनले अघिल्लो कार्यकालका जनप्रतिनिधिले गर्ने काम आफूले नगर्ने भनेर वडाअध्यक्ष यादवले २०७५ सालदेखि आफू वडाअध्यक्ष हुनुभन्दा अघिका कुनै पनि फाइल दर्ता नगरेको उनले बताए । 

‘कानूनमा वडाले साहु र ऋणीबीचको तमसुक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ, तर जनप्रतिनिधि हुँदाको समयको फाइल दर्ता नभए के गर्नेभन्ने विषयमा प्रष्ट छैन, प्रष्ट निर्देशन नहुँदासम्म पुराना फाइल दर्तामा समस्या आयो’, उनले भने ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update