Odapalika - The Fourth Estate - चौथो अंग
प्रभू महालक्ष्मी इन्स्योरेन्सका सीईओ भट्टराईले दिए राजीनामा, निमित्तको जिम्मा प्रसाईंलाई

काठमाडौँ । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले बुधबार सञ्चालक समिति समक्ष पदबाट राजीनामा दिएका हुन् । 

सीईओ भट्टराईले राजीनामा दिएसँगै सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

साबिक प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच मर्जर भएर प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स अस्तित्वमा आउनु अघि प्रसाईं प्रभू लाइफको प्रमुख कार्यकारी अधिकृत थिए ।

चार्टर्ड अकाउण्टेण्ट समेत रहेका प्रसाईंले बीमा क्षेत्रमा आफ्नो करिअरको शुरुवात तत्कालीन बीमा समिति ( हालको नेपाल बीमा प्राधिकरण) बाट गरेका हुन् । बीमा समितिबाट राजीनामा पछि नेपाल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका प्रसाईंले ४ वर्ष तीन महिना काम गरे । त्यस अवधिमा उनले ८ महिना प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

डेपुटी म्यानेजरभन्दा माथिलाई भिआरएस

बुधबार बसेको सञ्चालक समितिको बैठकले सिनियर कर्मचारीका लागि भिआरएस सुविधा दिने निर्णय गरेको छ । बैठकले माथिल्लो तहमा काम गरेका डेपुुटी म्यानेजरभन्दा माथिका कर्मचारीका लागि भिआरएस ल्याउने निर्णय गरेको हो । 

कम्पनीले १५ दिनको म्याद राखेर भिआरएस निकालेको कम्पनी जनाईएको छ । माथिल्लो तहमा १ वर्षभन्दा बढि काम गरेकाले भिआरएसमा आवेदन दिन सक्नेछन् । जसमा ७ महिनादेखी २४ महिनासम्मको सुविधा दिएर कर्मचारी विदा गर्ने कम्पनीको तयारी रहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update