Odapalika - The Fourth Estate - चौथो अंग
नागार्जुन नगरपालिकाभित्रका जग्गा अब घरबाटै हुन्छ पास, यस्तो छ प्रक्रिया  

काठमाडौँ । आगामी फागुन १ गतेदेखि नागार्जुुन नगरपालिकाका स्थानीयले घरमै बसेर नक्सापास गर्न पाउने भएका छन् । 

नगरपालिकाले डिजिटल नक्सापासका लागि अहिले परीक्षण गरिरहेको छ । अहिले परीक्षण गर्दा देखिएका गल्तीहरुलाई सुधार गरेर आगामी १ फागुुनदेखि पूर्णरुपमा कार्यान्वयनमा ल्याउने तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले जानकारी दिए ।

नगरका सेवालाई अनलाइनमा लैजाने क्रममा नक्सापास सुविधा पनि स्मार्ट प्रविधिमा लैजान लागिएको उनको भनाइ छ । उनले १ फागुुनदेखि घरमै बसेर घरको नक्सापास तथा राजश्व भुक्तानी लगायतका सबै काम अनलाइनबाटै गर्न सकिने बताए । 

यस्तो छ प्रक्रिया

अब नक्सा पास गर्दा नक्सा पास गर्ने अधिकारीहरुको डिजिटल सिग्नेचर रहनेछ । पालिकाको वेबसाइटमा आफ्नो युजर दर्ता गराएर नक्सापासको फारम डाउनलोड गरी भरेपछि त्यसैमा अपलोड गर्न सकिन्छ । 

त्यसका लागि नक्सापास गर्दा चाहिने सबै कागजातको प्रतिलिपि पनि अपलोड गर्नुपर्छ । स्थानीयले अपलोड गरेको कागजात अनुुसार पालिकाका इन्जिनियर तथा कर्मचारीहरुले भेरिफाइड गरेर फिल्ड भिजिटको जिम्मा सम्बन्धित वडालाई दिन्छन्् । 

वडामा रहेका इन्जिनियरले फिल्ड भिजिट गरेर पुनः साइटमा अपलोड गरेपछि पालिकाले डिजिटल नक्सापासको अनुमति दिन्छ । इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयरमा नक्सा पास गर्न कहाँ–कहाँ जाने भनेर ‘अप्सन’ र अप्सनमा विभिन्न डेस्क राखिएका हुन्छन् । 

ती डेस्कमा चरणबद्ध रूपमा गएपछि नक्सा पास गर्ने प्रक्रिया पूरा हुन्छ । इजाजत प्राप्त व्यक्ति वा कन्सल्टेन्टलाई प्रोग्रामको ‘युजर आईडी र पासवर्ड’ अनुसार नक्सा पास गर्न चाहिने जग्गाको लालपुर्जा, नागरिकता, फोटो, मालपोत तिरेको रसिद, नापीनक्साजस्ता घरजग्गामा सरोकार राख्ने कागजपत्र स्क्यान गरेर सबै फाइल ‘एटयाच’ गरी पठाईन्छ ।

त्यसपछि डिजाइन डेस्कबाट डकुमेन्ट रजिस्ट्रेसन डेस्कमा आइपुग्छन् । जसमा लालपुर्जा, जग्गाको कित्ता नम्बर लगायत इन्जिनियरले जाँच गर्छन् । यसपछि इन्जिनियरले टेक्निकल डेस्कमा पठाउँछन् । 

जुन डेक्समा डिजाइन, भवन मापदण्ड तथा भवनसंहिता पूरा गरेको नगरेको हेरिन्छ । सबै ठीक भएपछि ‘एक्ज्युकेटिभ डेस्क’ मा पठाइन्छ जसमा छुटपुट छ वा छैन भनेर जाँच गरिन्छ । यसपछि ‘रेभिन्यु डेस्क’ हुँदै राजस्वमा गएपछि विधिवत दर्ता भइ वडा डेस्कमा जान्छ । 

वडा डेस्कमा पुगेपछि १५ दिने सूचना टाँसगरी सँधियारको दाबी विरोध, प्राविधिकबाट नक्साअनुसारको फिल्डलगायत जाँच गरिन्छ । यी सबै प्रक्रिया पूरा गरी वडा डेस्कले अपलोड गरेर फेरि केन्द्रमा पठाइदिन्छ र त्यपछि नक्सा पास हुन्छ ।
 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update